प्रचण्डले बोली फेरे : ‘निर्वाचनमा जाने हाम्रो चाहना थिएन, राष्ट्रपतिको प्रस्तावले बाध्य भयौं’
वाम एकताका लागि पहिले पार्टी बलियो बनाउनुपर्नेमा जोड

काठमाडौं, वैशाख ३ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनमा जाने निर्णय आफ्नो पार्टीको चाहना नभएको बताएका छन्। यसअघि भदौमा भएको जेनजी आन्दोलनका क्रममा संविधान जोगाएको दाबी गर्दै आएका प्रचण्डले बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा आफ्नो अघिल्लो अभिव्यक्ति सच्याएका हुन्।
बैठकमा जेनजी आन्दोलनपछि पार्टीको पक्षमा जनमत नबन्दै निर्वाचनमा गएको भन्दै नेतृत्वको आलोचना भएको थियो। फागुन २१ को निर्वाचनमा नेकपाले जम्मा १७ सिट मात्र जित्न सकेको थियो। पार्टीका प्रमुख नेताहरूमध्ये स्वयं प्रचण्ड र वर्षमान पुनले मात्र निर्वाचन जित्न सफल भएका थिए।
बैठकमा प्रचण्डले निर्वाचनमा जानुको कारणबारे स्पष्टीकरण दिँदै भने, “निर्वाचनमा जाने हाम्रो चाहना थिएन। संसद विघटन पनि हाम्रो कारणले भएको होइन। राष्ट्रपतिले समस्याको निकास निकाल्न संसद विघटन गरी निर्वाचनमा जाऊँ भनेर प्रस्ताव गरेपछि बाध्य भएर समर्थन गरेको हो।” पेरिसडाँडा स्रोतका अनुसार प्रचण्डले उक्त अभिव्यक्ति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा दिएका थिए।
बैठकमा प्रचण्डले पार्टी रूपान्तरण र बृहत वामपन्थी एकताको विषयमा पनि आफ्नो धारणा राखेका थिए। उनले पहिले महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर मात्र एकता र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए। “अहिलेको परिस्थितिमा बृहत वामपन्थी एकता आवश्यक छ। त्यसका लागि पहिले पार्टी रूपान्तरणसहित बलियो बनाउन आवश्यक छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै श्राेतले बतायाे।
यसैगरी, प्रचण्डले १२ बुँदे पक्षधरहरूबीच सहकार्य र मोर्चाबन्दीको आवश्यकता रहेको पनि बताएका थिए। सहसंयोजक माधवकुमार नेपालले प्रचण्डको धारणालाई समर्थन गर्दै वामपन्थी शक्तिहरूबीचको एकताको विषयमा हतारमा निर्णय गर्न नहुने धारणा राखे।
श्राेतका अनुसार संयोजक र सहसंयोजकले धारणा राखेपछि बैठक स्थगित भएको छ। अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने र त्यसले नेताहरूको कार्यविभाजन तथा आगामी कार्यक्रमबारे निर्णय गर्ने जानकारी छ।





