‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ : आमाको मुख हेर्ने पर्व
आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै, मातातीर्थमा मेला लाग्ने

काठमाडौं, वैशाख ४ — प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा सन्तानहरूले आफ्नी आमालाई मीठा-मीठा तागतिला खानेकुरा खान दिने र राम्रा-राम्रा लुगा लगाइदिएर आशीर्वाद थाप्ने चलन रहेको छ।
शास्त्रीय मान्यता अनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्ने तथा उहाँबाट शुभाशीर्वाद ग्रहण गर्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। आमा नभएकाहरूले भने दिवङ्गत आमाको स्मरणमा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराई उहाँले गर्नुभएका महान् एवं कष्टकर कार्यहरूको सम्झना गर्ने परम्परा छ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्ने उल्लेख गरिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले बताउनुभयो।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी रहेको र बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने कुरा शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइने परम्परा रहेको छ। दिवङ्गत आमाका नाममा भने वैशाख कृष्ण औंसीका दिन श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। यस दिन दिवङ्गत आमाले सन्तानबाट आशा गर्ने हुँदा श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईको भनाइ छ।
यसै अवसरमा चन्द्रागिरि नगरपालिकास्थित प्रसिद्ध तीर्थस्थल मातातीर्थमा आज मेला लाग्ने गर्दछ। मातातीर्थमा मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभएको छ।





