भक्तपुर नगरपालिकाद्वारा संघीय सरकारको बिदा निर्देशन अस्वीकार, वैशाख ६ देखि नियमित कक्षा सञ्चालन हुने

भक्तपुर, वैशाख ४ — भक्तपुर नगरपालिकाले संघीय सरकारको निर्देशनविपरीत नगरभित्र सञ्चालित सम्पूर्ण प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको वैशाख ३ गते बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसार नै सञ्चालन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै भक्तपुर नगरका शैक्षिक संस्थाहरूमा वैशाख ६ गतेदेखि नियमित कक्षा सञ्चालन हुने र शनिबार मात्र बिदा हुने भएको छ।
नगर प्रमुख सुनिल प्रजापतिले शैक्षिक संघसंस्थाका सम्बन्धमा संघीय सरकारले गरेको निर्णय अव्यावहारिक भएकाले कार्यान्वयन गर्न नसकिएको बताए। उनले भने, ‘वर्षमा थप ५२ दिन बिदा दिएमा शैक्षिक कोर्स पूरा हुँदैन। संघीय सरकारले स्थानीय सरकारको संवैधानिक अधिकारमा हस्तक्षेप गर्न हुँदैन। कुनै पनि निर्णय लिनुअघि स्थानीय सरकारसँग सुझाव लिनुपर्छ।’
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गतेको पत्रमार्फत नेपाल सरकार मन्त्रीपरिषद्को चैत २२ गतेको निर्णय अनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो।
तर, भक्तपुर नगरभित्रका विभिन्न विद्यालयका प्रतिनिधिहरू, सार्वजनिक विद्यालय सामूहिक परीक्षा समिति, संयुक्त परीक्षा समिति, आधारभूत विद्यालय समिति, संस्थागत विद्यालय संघ नेपाल (इसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), पेट्सान, हिसान लगायतका सरोकारवाला निकायहरूले दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए।
यसै विषयमा भक्तपुर जिल्ला अभिभावक संघले समेत आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने र वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो। सरोकारवाला सबै पक्षको सुझाव र मागलाई सम्बोधन गर्दै नगरपालिकाले पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।





