१२ बैशाख २०८३, शनिबार

नेकपा बहुमतमा कारबाहीको शृङ्खला : तीन केन्द्रीय सदस्यसहित पत्रकार सङ्गठन प्रमुख निष्कासित, छद्म नाममा जिम्मेवारी बाँडफाँड

काठमाडौं, वैशाख ४ — टुटफुट, विभाजन र आन्तरिक किचलोका कारण चाउरिँदै गएको धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ नेतृत्वको नेकपा बहुमतले साङ्गठनिक अनुशासनको आडमा असन्तुष्ट समूहमाथि कारबाहीको शृङ्खला सुरु गरेको छ। पार्टीले तीन केन्द्रीय सदस्यसहित पत्रकार सङ्गठनका संयोजकलाई पार्टीबाट निष्कासन गरेको छ। चैत १३ देखि १६ गतेसम्म बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले सङ्गठनसम्बन्धी १२ वटा निर्णय गरेकोमा अधिकांश कारबाहीसम्बन्धी रहेका छन्।

केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि मातहतका कमिटीलाई पठाइएको सर्कुलरमा पत्रकार सङ्गठनका प्रमुख जीवन हमालसहित केन्द्रीय सदस्यहरू निर्मल, पावेल र स्लामलाई जिम्मेवारीबाट बिदा गरिएको उल्लेख छ। यसैगरी, बद्री चौलागाईं, नेत्र बस्नेत र कुमाल सिलवाललाई पार्टीबाट निष्कासन गरिएको छ भने डीबी सर्वश्रेष्ठ एक तह घटुवामा परेका छन्।

जनयुद्धकालीन साङ्गठनिक संरचना अवलम्बन गर्दै आएको बहुमतको निर्णयमा पनि त्यस्तै धङधङ्गी देखिन्छ। भूमिगत शैलीमा नेताहरूको छद्म नाम प्रयोग गरिएको छ भने जिम्मेवारी तोक्नुलाई ‘ठोस’ गरिएको भनिएको छ। जसअनुसार, दीपक चलाउने प्रवक्तामा ठोस भएका छन् भने ७ नम्बर ब्युरो इन्चार्जमा सङ्गम, ४ नम्बरमा सुजन र जबस फ्र्याक्सनमा मुक्ति ठोस भएका छन्। कास्की सेक्रेटरीमा मिलन राईलाई ठोस गरिएको छ भने विदेश ब्युरो इन्चार्जमा प्रतीक र सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुखमा अविरललाई ठोस गरिएको छ।

बैठकले सबै जबस मोर्चाहरूलाई सम्मेलन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ भने गाउँ-गाउँमा सोभियत सत्ता निर्माणको आधार तयार गर्ने दाबी समेत गरेको छ। यसैगरी, आगामी साउन १५ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै अलग-अलग प्रवेश शुल्क तोकिएको छ। निर्णय अनुसार, १, ७ र विदेश ब्युरोका लागि तीन हजार रुपैयाँ तथा अन्य ब्युरोका लागि पाँच हजार रुपैयाँ शुल्क ठोस गरिएको छ। राष्ट्रिय सम्मेलनसम्म पाँच हजार सदस्यता नवीकरण गर्ने लक्ष्य राखेको बहुमतले चैत मसान्तसम्म सबै ब्युरोका बैठक सम्पन्न गरी वैशाखभरि प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ।

यस पार्टीले सञ्चार माध्यममा प्रकाशित समाचारको स्रोत छानबिन गर्न समिति गठन गर्ने अनौठो निर्णय समेत गरेको छ। गम्भीरको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा अविरल र दिवस सदस्य रहेका छन्। सर्कुलरमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा कमरेड नरेन्द्र विक ‘चे’ सँग जोडिएर उठेका विभिन्न विषयमा र जनआस्था पत्रिकामा आएको समाचारबारे छुट्टाछुट्टै छानबिन गर्न कमरेड गम्भीरको संयोजकत्वमा कमरेड अविरल र कमरेड दिवस सदस्य रहेको छानबिन समिति गठन गरियो।’

नेकपा-माओवादी, नेकपा, क्रान्तिकारी माओवादी हुँदै अहिले बहुमतको नाममा रहेको यो पार्टी माओवादी भङ्गालोबाट छुट्टिएर अस्तित्वमा आएको हो। सन् २०२२ (विसं २०७९) मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट चोइटिएर धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले छुट्टै समूह गठन गरेका थिए। ‘संसदवादका विरुद्ध दोस्रो जनयुद्ध’ भन्दै केही वर्ष भूमिगत भएर खुला राजनीतिमा आएका विप्लवले चुनाव उपयोगको नीति लिएपछि असन्तुष्ट भई बाहिरिएका यी दुई नेता हाल एकै ठाउँमा छैनन्। विप्लवबाट अलग भएपछि केही समय मोहन वैद्य ‘किरण’ समूहतिर लागेका धर्मेन्द्र त्यहाँ लामो समय टिक्न सकेनन्। हेमन्तप्रकाश भने सोही समूहमा छन्। चार वर्षको अवधिमा पटक-पटक फुटेको र आन्तरिक द्वन्द्वले सिध्याउन लागेको बहुमतले जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य लिएको छ। अर्धभूमिगत शैलीमा सञ्चालित यस पार्टीका कार्यकर्ताले जनकारबाहीका नाममा सरकारी कार्यालयमा प्रवेश गरी कालोमोसो दल्ने र व्यक्तिको सम्पत्ति कब्जा गर्ने जस्ता गैरकानुनी तथा माक्र्सवादविरोधी गतिविधि सञ्चालन गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button