ओली-प्रचण्ड भेटवार्ता : टिचिङ अस्पतालमा आधा घण्टा लामो शिष्टाचार भेट, राजनीतिक सहकार्यको चर्चासँगै अर्थपूर्ण मानिँदै

काठमाडौं, वैशाख ४ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्थरीको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेका थिए र करिब ३० मिनेटसम्म उनीहरूबीच भेटवार्ता भएको बताइएको छ।
एमाले सचिव पद्मा अर्यालले प्रचण्डले ओलीको स्वास्थ्यलाभको कामना गर्न आएको जानकारी दिइन्। उनले भनिन्, ‘उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो। थप विषयबारे मैले पनि बुझ्न बाँकी छ।’ तर, एमाले र नेकपाबीच सहकार्यको चर्चा चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतका अनुसार यसअघि नेकपा र एमालेका केही नेताहरूबीच छलफल भएपछि मात्र ओली र प्रचण्डबीच संवाद भएको हो। त्यसअघि एमालेका दुई पदाधिकारीले ओलीको सन्देश लिएर नेकपाका शीर्ष नेताहरूलाई भेटेका थिए। नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूसँग एमालेका ती पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा करिब ४ घण्टा लामो छलफल गरेको बताइन्छ। सोही छलफलपछि प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेको स्रोतको दाबी छ।
यसैक्रममा, आज पुनः एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेका छन्। उनीहरूबीच नेकपा र एमालेबीचको सहकार्यको विषयमा थप कुराकानी भएको स्रोतको दाबी छ। दुई कम्युनिस्ट पार्टीबीचको यो बढ्दो सम्पर्क र संवादले आगामी दिनमा राजनीतिक समीकरणमा नयाँ मोड आउन सक्ने सङ्केत गरेको छ।





