‘मुस्ताङको युरेनियम खानी अमेरिका र अष्ट्रेलियालाई दिने तयारी’
समाचार सार्वजनिक भएपछि सत्य र न्यायको खोजी अभियानद्वारा सरकारसँग सूचना माग, स्पष्टताको आग्रह

काठमाडौं, वैशाख ४ — ‘सत्य र न्यायको खोजी अभियान’ नामक संस्थाले मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको बहुमूल्य युरेनियम खानीको उत्खनन् र प्रशोधनको जिम्मा नेपाली सेनाको रोहबरमा अमेरिका र अष्ट्रेलियाको प्राविधिक टोलीलाई दिन लागिएको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारसँग औपचारिक रूपमा सूचना माग गरेको छ।
अभियानले नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराउँदै उक्त समाचारको सत्यताबारे स्पष्टता मागेको हो। दर्ता नम्बर ५३५४ रहेको निवेदनमा भनिएको छ, ‘एसपीपी भनिएको न्याशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम पनि एमसीसीको पूरकको रूपमा ल्याइँदै छ भन्ने थप चर्चाहरू भइरहँदा पछिल्लो समय जुनतारा खबरबाट साभारित भन्दै नेपाल न्यूजले फेसबुकमार्फत मुस्ताङको लोमान्थाङमा रहेको बहुमूल्य युरेनियम खानीको उत्खनन् र प्रशोधनको जिम्मा सरकारले नेपाली सेनाको रोहबरमा अमेरिका र अष्ट्रेलियाको प्राविधिक टोलीलाई दिने तयारी गरेको छ भन्ने समेतको समाचार सम्प्रेषण गरेको विषयमा हाम्रो अभियानको ध्यानाकर्षण भएको छ।’
अभियानले सो विषयमा भएका कुनै पनि सन्धि सम्झौताका विवरणहरू उपलब्ध गराउन समेत माग गरेको छ। निवेदनमा अगाडि लेखिएको छ, ‘नेपाल सरकारको तर्फबाट माथि लेखिएअनुसारको कुनै सन्धि सम्झौता गरिएको भए त्यस विषयमा प्रतिनिधि सभामा छलफल गरियो वा गरिएन वा गरिएको भए प्रतिनिधि सभाबाट पारित गरिएको हो वा होइन वा प्रतिनिधि सभा नरहेको अवस्थामा त्यस्तो सन्धि सम्झौता गरिएको हो भने त्यससम्बन्धी विवरणयुक्त प्रमाण कागजहरू।’
यो विषय सार्वजनिक भएपछि नागरिक स्तरबाट समेत चासो र चिन्ता व्यक्त हुन थालेको छ। सरकारले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।





