११ बैशाख २०८३, शुक्रबार

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३३औं कमाण्ड तथा स्टाफ तालिम सुरु

१० मुलुकका अधिकृतसहित ९२ शिक्षार्थी सहभागी

काठमाडौं, वैशाख ४ — नेपाली सेनाको मध्यम तहका अधिकृतहरूमा स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आजदेखि ३३औं कमाण्ड तथा स्टाफ तालिम (सि.सं. ३३) सुरु भएको छ। उक्त तालिमको सेनापति अशोक सिग्देलपछिका वरिष्ठतम अधिकृत एवं बलाधिकृत रथी प्रदीपजङ्ग केसीले शुभारम्भ गरेका छन्।

उद्घाटन समारोहमा शिक्षार्थी अधिकृतहरूसँग अनुभव आदानप्रदान गर्दै बलाधिकृत रथी केसीले यस तालिमपश्चात् सहभागीहरू अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा परिवेशको गहन विश्लेषणसहित व्यावहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

यस वर्षको तालिममा नेपाली सेनाका चार जना महिला अधिकृतसहित ७९ जना अधिकृतहरूको सहभागिता रहेको छ। यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागबाट एक-एक जना गरी तीन जना स्वदेशी सुरक्षा निकायका अधिकृतहरू पनि सहभागी भएका छन्। अन्तर्राष्ट्रिय सहभागितातर्फ चीनका दुई जना तथा अमेरिका, बेलायत, बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानबाट एक-एक जना गरी १० मुलुकका विदेशी अधिकृतहरूको उपस्थितिले तालिमलाई थप अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको छ। कूल ९२ जना शिक्षार्थी अधिकृतहरूले यो तालिममा भाग लिइरहेका छन्।

२०४९ साल पुस १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बलका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न विदेशी मुलुकका १३२ गरी जम्मा १ हजार ५०७ जना अधिकृतहरूलाई दक्ष र प्रशिक्षित गरिसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button