प्रधानमन्त्री साहविरुद्ध १२ वर्ष पुरानो र्याप भिडियोका कारण साइबर ब्यूरोमा उजुरी
'यौनहिंसा र घृणा फैलाउने सामग्री हटाएर माफी माग्नुपर्ने' माग

काठमाडौं, वैशाख ४ — प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले करिब एक दशकअघि र्याप ब्याटलका क्रममा गाएको एक भिडियो सामग्री युट्युबबाट हटाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी परेको छ। विवेक मगर, रोजी पुन, महिन्द्र सिंह दनुवार र पवन राई नामक चार जना नागरिकले आज ब्यूरोमा उजुरी दर्ता गराउँदै उक्त भिडियोले महिलाविरोधी तथा यौनिक र लैङ्गिक अल्पसंख्यक समुदायविरुद्ध घृणा फैलाएको आरोप लगाएका छन्।
उजुरीकर्ताहरूका अनुसार उक्त र्यापमा प्रयोग गरिएका अभिव्यक्तिहरूले नेपालको संविधान, २०७२ द्वारा सुनिश्चित गरिएको मौलिक हकमाथि आघात पुर्याएको छ। उजुरीमा भनिएको छ, ‘उच्च ओहोदामा रहेका व्यक्तिसँग सम्बन्धित भिडियो सामग्रीले महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायविरुद्ध यौनहिंसा तथा भेदभावलाई प्रश्रय दिनुका साथै सामाजिक वातावरणलाई विषाक्त बनाएको छ।’ उनीहरूले उक्त र्यापले यौनहिंसा र भेदभावलाई प्रोत्साहन गरेको दाबी गरेका छन्।

उजुरीकर्ताहरूले साइबर ब्यूरोसमक्ष तीनवटा मुख्य माग राखेका छन्। पहिलो, उक्त भिडियो तत्काल युट्युबलगायत सबै सार्वजनिक प्लेटफर्मबाट हटाउनुपर्ने। दोस्रो, प्रधानमन्त्री साहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने। र तेस्रो, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने। उजुरीमा लेखिएको छ, ‘विपक्षीलाई उक्त भिडियो हटाउनका साथै सार्वजनिक रूपमा माफी माग्नसमेत लगाउन र उचित क्षतिपूर्ति दिलाई भराउन निवेदन गर्दछौं।’
प्रधानमन्त्री साहले करिब १२ वर्षअघि एक र्याप ब्याटलका क्रममा गाएको २० मिनेट १४ सेकेन्ड लामो उक्त र्यापमा विवादास्पद अभिव्यक्तिहरू प्रयोग भएको पाइन्छ। उक्त र्यापमा उनले ‘यसलाई सित्तैमा बजाउन पाइन्छ, हिँजडालाई दिन दाम लाग्छ’, ‘तर त ठूलै छक्का होस्, तेरो बलात्कार साकारले नि गर्न सक्छ’, र ‘एउटा केटा हुन्छ, अर्को केटी हुन्छ तँ चाहिँ तेस्रो प्रकार होस्’ लगायतका शब्दहरू प्रयोग गरेका छन्। यी अभिव्यक्तिहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति गम्भीर असहिष्णुता र महिलामाथिको हिंसालाई सामान्यीकरण गरेको उजुरीकर्ताहरूको आरोप छ।
यस विषयमा प्रधानमन्त्री साहको सचिवालय वा सरकारी पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। साइबर ब्यूरोले भने उजुरी दर्ता भएको पुष्टि गर्दै प्रारम्भिक छानबिन प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ।





