अस्पतालको बेडमा ४० मिनेट गाेप्य कुराकानी, वाम एकताको चर्चा तीव्र

काठमाडौं। बजारमा चलिरहेको वाम एकताको चर्चालाई बल पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोप्य भेट गरेका छन्। दुई नेताबीच आज बिहान टिचिङ अस्पतालको बेडमा भेटवार्ता भएको हो।
जेनजी घटना दबाएको आरोपमा चैत १४ गते बिहानै पक्राउ परेका ओली त्यसयता टिचिङ हस्पिटलमा उपचारत छन्। पत्थरीको अप्रेशनपछि हिजो नर्मल बेडमा सारिएका उनलाई भेट्न प्रचण्ड त्यहीँ पुगेका थिए। स्रोतका अनुसार उनीहरूबीच करिब ४० मिनेट कुराकानी भएको थियो।
फागुन २१ को निर्वाचनमा नराम्रोसँग धक्का खाएका एमाले र नेकपाबीच एकीकरणको चर्चा भइरहँदा यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ। यसअघि आगामी सहकार्यका लागि ओलीका केही विश्वासपात्रले प्रचण्डलाई भेटेको दाबी स्रोतको छ।
वाम सहकार्य हुँदै आगामी स्थानीय निर्वाचनसम्ममा पार्टी एकता गर्नेगरी दुवैतिरका दोस्रो र तेस्रो तहका केही नेता निरन्तर अनौपचारिक संवादमा रहेको बताइन्छ। ‘अब पनि नमिले वाम अस्तित्व नै सकिन्छ’ भन्दै ओलीको तर्फबाट केही नेताले अनौपचारिक प्रस्ताव ल्याएको पुष्टि प्रचण्ड निकट स्रोतले गरेको छ। ‘विभिन्न ढंगले कुरा ल्याइरहेका छन्, तर अहिले नै पार्टी एकता गर्नुपर्छ भन्ने तहमा प्रस्ताव आएको छैन,’ स्रोतले सुनायो।
पार्टीले निर्वाचनमा अकल्पनीय हार व्यहोरेसँगै ओली र प्रचण्डमाथि नेतृत्व छोड्न पार्टीभित्र दबाब बढिरहेको छ। खासगरी जेनजी घटनाका बेला सत्तामा रहेका ओली बढी दबाबमा छन्। नेतृत्व छोड्न दबाब बढेपछि अप्ठेरोमा परेका उनले केही दिनअघि झलनाथ खनाललाई पनि अस्पतालमै बोलाएर भेटेका थिए।
अहिले चलिरहेको एकताको चर्चालाई एमालेको संस्थापन इतर समूहले सम्भावित संकट टार्ने ओली रणनीतिका रूपमा अर्थ्याएको पाइन्छ। उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेलगायत ‘१० भाइ समूह’ का नेताहरू पहिले ओलीलाई नेतृत्वबाट हटाएर पार्टीलाई बलियो बनाउने अनि वाम सहकार्य गर्दै एकतासम्म पुग्नुपर्ने पक्षमा देखिन्छन्।
नेता सुरेन्द्र पाण्डेले त सार्वजनिक रूपमै व्यक्तिको स्वार्थ हेरेर गरिने एकता स्वीकार्य नहुने भन्दै त्यस्तो धारणा राखेका छन्। ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’
विचार र निश्चित गन्तव्यविनाको एकताले पार्टीको मूल्य मान्यतालाई ‘डाइल्युट’ गर्ने चिन्ता पोख्दै पाण्डेले ०७५ सालमा नेकपा गठन गर्दाको सन्दर्भ स्मरण गरेका छन्। त्यतिबेला वैचारिक आधारविना एकता गर्दा तीतो परिणाम भोग्नुपरेको उनको बुझाइ छ। त्यसकारण नेकपासँगको एकता आजको प्राथमिकता नभएको दावी गर्दै उनले एमालेलाई नै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। जबर्जस्ती गरिए पार्टी झन् साँघुरिँदै जाने उनको तर्क छ।
‘नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ,’ पाण्डे भन्छन्, ‘विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं।’
नेकपाका नेताहरूले पनि पाण्डेको धारणालाई एमालेभित्रको आन्तरिक असन्तुष्टिको उपजका रूपमा विश्लेषण गरेका छन्। ‘पहिला केपीलाई फाल्ने उहाँहरूको रणनीतिजस्तो देखिन्छ,’ एक नेताको भनाइ छ, ‘सैद्धान्तिक रुपमा एकताकै विपक्षमा हुनुहुन्छ जस्तो लाग्दैन।’
तत्कालै एकता सम्भव नदेखेका ती नेताले खुलाए, ‘अध्यक्षको सन्देश भन्दै केही मान्छेले कुरा ल्याइरहेका छन्। अहिले सहकार्य गरेर जाउँ, बिस्तारै एकतासम्म पुग्नुपर्छ भन्ने छ उहाँहरूको।’
संसदको तेस्रो र चौथो हैसियतमा खुम्चिएका एमाले र नेकपा मिल्दा प्रमुख प्रतिपक्ष दलको हैसियत कायम हुने अवस्था छ। यो बुझेरै रास्वपाले उपसभामुख र संसदीय समितिको सभापति नदिएको विश्लेषण नेताहरूले गरेका छन्।





