सल्यानको जिल्ला अस्पतालमा चिकित्सक अभाव : शल्यक्रिया सेवा बन्द, गर्भवती बिरामी बाहिर धाउन बाध्य

सल्यान । जिल्ला अस्पताल सल्यानमा एक सातादेखि शल्यक्रिया सेवा बन्द भएको छ। चिकित्सकको अभावमा गत चैत २८ गतेदेखि शल्यक्रिया सेवा ठप्प भएको हो। शल्यक्रिया सेवा बन्द भएपछि नजिकै न्यून शुल्कमा सेवा पाउने बिरामी अहिले धेरै रकम खर्चेर दाङ, नेपालगन्ज, सुर्खेत धाउन बाध्य भएका छन्। दुई/तीन घन्टा गाडी तथा एम्बुलेन्समा सवार गरेर बाहिर जानुपर्दा जटिल समस्या भएका गर्भवतीलाई अझ बढी समस्या हुने गरेको छ।
जटिल समस्या भएका गर्भवतीलाई लक्षित गरी जिल्ला अस्पताल सल्यानमा डेढ दशकअघि शल्यक्रिया सेवा सुरु गरिएको थियो। शल्यक्रिया सेवा ठप्प भएपछि विभिन्न पालिकामा रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट रेफर भएर आएका महिला बढी प्रभावित भएका छन्। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट गाडी रिजर्भ गरी जिल्ला अस्पताल आउने र त्यहाँबाट बाहिर जानुपर्दा जिल्लावासीले सास्ती भोग्नुपरेको छ।
जिल्ला अस्पताल सल्यानमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ शाह बिरामी भएर उपचारमा रहेको र अर्का डा. अशिम अधिकारी एमडी पढ्न गएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए। सेवा प्रभावित भएपछि संघ र प्रदेश सरकारलाई जानकारी गराएर चिकित्सकको माग गरेको उनले बताए। ‘जिल्ला अस्पताल सल्यानमा महिनामा एक सयभन्दा बढी सुत्केरी हुने गर्छन्। त्यसमध्ये जटिल समस्या भएका १०/१२ जनाको शल्यक्रिया गर्नुपर्छ। जिल्ला अस्पताल आएका बिरामीलाई बाहिर पठाउन नपरोस् भन्ने चाहन्छौं। चिकित्सक नभएपछि बाध्य भएर अहिले बाहिर पठाउनुपरेको छ,’ उनले भने। दक्ष जनशक्तिको अभावमा बेलाबेला जिल्ला अस्पतालमा समस्या देखिरहने उनले बताए।
जिल्ला अस्पताल सल्यानमा चिकित्सक नभएर शल्यक्रिया सेवा बन्द रहेको खबर पाएपछि २३ वर्षीया एक गर्भवतीलाई बिहीबार सुर्खेत लगिएको छिमेकी बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका दीपक रानाले बताए। कालीमाटी हुँदै सुर्खेत जानुपर्दा धेरै समय लागेको र गाडी भाडा मात्र १० हजार रुपैयाँ लागेको उनले बताए। ‘जिल्ला अस्पतालले सेवा दिएको भए निःशुल्क शल्यक्रिया हुन्थ्यो। यातायातमा बढीमा तीन हजार रुपैयाँसम्म खर्च लाग्थ्यो। अस्पतालबाट सुत्केरी भत्ता पनि पाउँथे,’ उनले भने। चिकित्सकको अभावमा शल्यक्रिया सेवा बन्द भएपछि जटिल समस्या भएका गर्भवतीले घर नजिकैको अस्पतालबाट सेवा पाउन बञ्चित हुनुपरेको शारदा नगरपालिका–८ का डम्मर खड्काले बताए। २०४४ सालमा स्थापना भएको १५ शय्या अनुमति भएको जिल्ला अस्पतालले ४० भन्दा बढी बेड राखेर विभिन्न किसिमका सेवा दिँदै आएको छ।





