११ बैशाख २०८३, शुक्रबार

चिनियाँ पर्यटकको आगमन बढाउन र नेपाल–चीन सहकार्य गहिरो बनाउन मन्त्री पौडेल र राजदूत चाङबीच सहमति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँगको भेटमा चिनियाँ पर्यटकको आगमन बढाउनेतर्फ आफ्नो चासो व्यक्त गरेका छन्। हिजो सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपालको आर्थिक र पर्यटन विकासमा चीनले पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यस्तै सहयोग प्राप्त हुने विश्वास राखेको बताइन्छ। नेपालको पूर्वाधार विकास, सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा चीनले गरेको सहयोगको चर्चा गर्दै मन्त्रीले आगामी दिनमा नेपालको पर्यटन विकासमा चीनसँगको साझेदारी झन् गहिरो हुने विश्वास व्यक्त गरे। उनले जनस्तरको सम्बन्धलाई कसिलो बनाउन पर्यटनले ठूलो भूमिका खेल्ने धारणा राखेको मन्त्रालय स्रोतले बतायो।

मन्त्री पौडेललाई नयाँ जिम्मेवारीका लागि बधाई र सफल कार्यकालको शुभकामना दिँदै राजदूत चाङले नयाँ नेतृत्वले नेपालको थप विकास गर्ने विश्वास राखेको बताए। राजदूतको भनाइ थियो, ‘नेपाल र चीनबीच कायम रहेको ऐतिहासिक सम्बन्धसँगै दुई मुलुकबीच पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक विकासमा फड्को मार्न सकिने धेरै आधार छन्।’ यस भेटले चीन–नेपाल पर्यटन सहकार्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। चिनियाँ पर्यटकको आगमनमा वृद्धि भए नेपालको पर्यटन क्षेत्रमा ठूलो आर्थिक सुधार आउने देखिन्छ। दुवै पक्षले यस दिशामा ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button