बालेनको नेतृत्वप्रति विश्वास : अमेरिकादेखि चीन, भारतदेखि जापानसम्मको बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने शक्ति राष्ट्रहरूको इच्छा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा शुक्रबार नयाँ सरकार गठन भएलगत्तै शक्ति राष्ट्रहरू अमेरिका, चीन, भारत, बेलायत, जापान, सिंगापुर, पाकिस्तानलगायतले नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच बालेनलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराएपछि शुक्रबार नै अन्य १५ जना मन्त्री नियुक्त गरिएको थियो। पदभार ग्रहण गरिनसक्दै विभिन्न शक्ति राष्ट्रहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिन सुरु गरेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गरेकोमा बालेनलाई बधाई दिँदै भनेका छन्, “यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।”
चीनको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेन र सरकारलाई बधाई दिँदै भनेका छन्, “चीन प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा बधाई ज्ञापन गर्दछ र परम्परागत मित्रता तथा व्यावहारिक सहयोगलाई अझ सुदृढ पार्न नेपालको नयाँ सरकारसँग काम गर्न तयार छ।”
काठमाडौंस्थित अमेरिकी दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिँदै भनेको छ, “नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई। अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।”
बेलायती दूतावासले पनि बधाई दिँदै भनेको छ, “हामी बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा बधाई दिन्छौं। बेलायतको नेपालसँगको मित्रता आधुनिक साझेदारीमा परिणत हुँदै छ, जुन समयको आवश्यकताहरूमा केन्द्रित छ – आर्थिक वृद्धि, युवा रोजगारी, र जलवायु उत्थानशीलता। नयाँ सरकारले आफ्नो प्राथमिकताहरू निर्धारण गर्दै जाँदा यी र अन्य क्षेत्रहरूमा सहकार्य गर्न बेलायत तत्पर रहेको छ।”
युरोपेली युनियन (ईयू) को विदेश मामिलासम्बन्धी प्रवक्ता अनौअर एल अनौनीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको नयाँ सरकारलाई पदभार ग्रहण गरेकोमा युरोपेली संघ बधाई ज्ञापन गर्दछ।” ईयूले नेपाल र नेपाली जनतासँगको लामो समयदेखिको सम्बन्धलाई अझ विकास गर्न र नेपाल सरकारको विकास प्राथमिकताहरू कार्यान्वयन गर्न सहयोग गर्न तत्पर रहेको जनाएको छ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले पनि बालेनलाई बधाई दिएका छन्। राष्ट्रपति जरदारीले नेपालमा युवा नेतृत्वको उदय भएको भन्दै दक्षिण एसियाको भविष्य निर्माणमा युवा नेतृत्व अगाडि आउनु उत्साहजनक रहेको बताएका छन्। प्रधानमन्त्री सरिफले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको भारी बहुमतलाई शानदार विजयको संज्ञा दिँदै क्षेत्रीय शान्ति र स्थिरताका लागि नेपालसँग सहकार्य सुदृढ बनाउन आफू उत्सुक रहेको उल्लेख गरेका छन्।
जापानकी प्रधानमन्त्री ताकाइची सानाएले बालेनलाई नेपालको प्रधानमन्त्री नियुक्त भएको र कार्यभार सम्हालेकोमा खुसी व्यक्त गर्दै नेपाल र जापानबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्री बालेनसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको बताएकी छन्।
सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताबाट प्राप्त गरेको बलियो जनादेशले शाहको नेतृत्वप्रति जनताको विश्वासलाई झल्काएको बताए। आगामी दिनमा दुई देशबीचको न्यानो सम्बन्धलाई अझ गहिरो बनाउन बालेनसँग मिलेर काम गर्न आफू उत्सुक रहेको उनले जनाएका छन्।
यसैगरी फिनल्यान्ड, फ्रान्स, भुटान, स्वीट्जरल्यान्ड, नर्वेलगायतका मुलुकले पनि नवनियुक्त प्रधानमन्त्री बालेन र नयाँ सरकारलाई बधाई तथा शुभकामना दिएका छन्। अन्तर्राष्ट्रिय समुदायको यो व्यापक बधाईले नयाँ सरकारप्रति विश्व समुदायको विश्वास र सहकार्यको इच्छा प्रस्ट देखाएको छ।





