चीनको बधाई : ‘रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न तयार छौं’

काठमाडौं / नेपालको नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले हार्दिक बधाई दिएको छ। नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउन चीन तयार रहेको जनाएको छ।
चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई पनि बधाई सन्देश पठाएका छन्। सन्देशमा वाङले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी भएको स्मरण गराउँदै सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा आपसी सम्बन्धको विकास गर्दै आएको उल्लेख गरेका छन्।
चिनियाँ परराष्ट्रमन्त्रीले भनेका छन्, ‘परराष्ट्र मन्त्री शिशिर खनालसँगै मिलेर आपसमा भएका विभिन्न सहमतिहरूको कार्यान्वयन गर्दै विकास तथा समृद्धिउन्मुख युगौंयुगसम्म चल्ने रणनीतिक साझेदारी सहयोगात्मक सम्बन्धमा नयाँ प्रगति हासिल गर्दै जाने आशा गर्छु।’
चीनको यो बधाई सन्देशले नवगठित नेपाली सरकारसँगको सम्बन्धलाई निरन्तरता र विस्तार दुवै हिसाबले अघि बढाउने चिनियाँ पक्षको चासो र प्रतिबद्धतालाई देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने उनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ।
नेपालको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्वपूर्ण रहेको छ। नयाँ सरकारले आफ्नो परराष्ट्र–नीतिलाई सन्तुलित राष्ट्रिय हितका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको सन्दर्भमा चीनको यो बधाईले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।





