२२ बैशाख २०८३, मंगलवार

स्व. अर्जुन रोकाको स्मृतिमा खजुरामा रात्रिकालिन क्रिकेट सुरु : १७ टोलीको भिडन्त

खजुरा, बाँके । न्यु दर्पण युवा स्पोर्ट्स क्लब र अर्जुन रोका प्रतिष्ठानको संयुक्त आयोजनामा आजदेखि खजुरा–४ स्थित ई गाउँमा स्वर्गीय अर्जुन रोका क्षेत्री स्मृति रात्रिकालिन क्रिकेट प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका, प्रतिष्ठानका संरक्षक खिमा रोका र अन्य विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा गरेका छन्। उद्घाटन समारोहमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

न्यु दर्पण युवा स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश केसीका अनुसार प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता रात्रिकालिन हुने भएकाले यसले स्थानीय खेलप्रेमीहरूमा थप उत्साह थपेको छ। मैदानमा विद्युतीय बत्तीको व्यवस्था गरी खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

स्वर्गीय अर्जुन रोका क्षेत्रीको सम्झनामा आयोजित यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा आबद्ध गराउनुका साथै प्रतिभाको प्रस्फुटनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। प्रतियोगिताको फाइनल आगामी केही दिनमा हुने कार्यक्रम रहेको छ। आयोजकले विजेतालाई आकर्षक ट्रफी र नगद पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button