हर्मुजको मुखमा ४८ घण्टाको म्याद : ट्रम्पको धम्की र इरानी सेनापतिको जवाफ – “बरबादी र निरन्तर आक्रमणको हुनेछ जवाफ”’

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरुमा पूर्ण रूपमा खोल्न दिएको १० दिने अल्टिमेटम सोमबार समाप्त हुँदै छ। त्यसको ठीक ४८ घण्टा अगाडि ट्रम्पले ‘नरकको आगो’ वर्षाउने धम्की दिएका छन्। तर इरानी शीर्ष कमान्डरले पनि कडा प्रत्युत्तर दिएका छन् – कुनै पनि अमेरिकी वा इजरायली प्रहारले पश्चिम एसियामा रहेका सबै अमेरिकी सैन्य सम्पत्ति र इजरायली पूर्वाधारमाथि ‘विनाशकारी र निरन्तर’ आक्रमणको सामना गर्नुपर्नेछ।
इरानको ‘खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टर’ का प्रमुख कमान्डर अली अब्दोल्लाहीले शनिबार यो चेतावनी जारी गरेका हुन्। उनले ट्रम्पको नीतिलाई ‘आत्मघाती, नर्भस, असंतुलित र मूर्खतापूर्ण कदम’ भन्दै तीव्र आलोचना गरे। अब्दोल्लाहीले भने, ‘लगातार पराजय बेहोरेपछि अमेरिकी आक्रामक र युद्धोन्मत्त राष्ट्रपतिले इरानको पूर्वाधार र राष्ट्रिय सम्पत्तिलाई लक्षित गर्ने धम्की दिएका छन्। इरानी सशस्त्र सेनाले देशको अधिकार र राष्ट्रिय सम्पत्तिको रक्षाका लागि एक क्षण पनि संकोच गर्दैन र आक्रमणकारीलाई उसकै ठाउँमा रोक्नेछ।’
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले लेखेका छन् – ‘सम्झनुहोस्, मैले इरानलाई १० दिनको समय दिएको थिएँ – या त सम्झौता गर, वा हर्मुज जलडमरुमा खोलिदे। अब समय सकिँदै छ – ४८ घण्टाभित्र तिनीहरूमाथि नरकको आगो वर्षिनेछ।’ यो ट्रम्पको पछिल्लो अल्टिमेटम हो। मार्च २१ मा उनले इरानले ४८ घण्टाभित्र हर्मुज जलडमरुमा पूर्ण रूपमा नखोले इरानका विद्युत् गृहलाई ‘प्रहार र ध्वस्त’ पार्ने धम्की दिएका थिए। तर दुई दिनपछि तेहरानसँग ‘रचनात्मक वार्ता’ भएको बताउँदै उनले पाँच दिनको स्थगन गरे। त्यसपछि फेरि म्याद थपे। अब आएर फेरि अर्को धम्की।
यो घटनाक्रम फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको सामूहिक आक्रमणपछि बढेको क्षेत्रीय तनावको बीचमा आएको छ। त्यसको जवाफमा इरान र उसको क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वभरि इजरायली र अमेरिकी हितहरूमाथि आक्रमण गरिसकेका छन्। अहिले हर्मुज जलडमरुमाको मुखमा पुनः टकरावको बादल मडारिएको छ। विश्वको कुल तेल व्यापारको लगभग २० प्रतिशत यही जलडरुमा हुँदै ढुवानी हुन्छ। यदि ट्रम्पको धम्की यथार्थमा परिणत भयो भने विश्व अर्थतन्त्र सङ्कटमा पर्ने निश्चित छ। तर इरानी कमान्डरको कडा प्रतिक्रियाले पनि तेहरानले कुनै पनि मूल्यमा पछि हट्न नसक्ने सन्देश दिएको छ। अबको ४८ घण्टा मध्यपूर्वको भविष्यका लागि निकै निर्णायक हुनेछ। के अमेरिका साँच्चै प्रहार गर्छ ? कि इरानले हर्मुज बन्द गरेर तेलको नली नै काट्छ ? केवल समयले भन्नेछ। तर एउटा कुरा पक्का छ – यो ‘नरकको धम्की र विनाशको चेतावनी’ को खेलले पूरै विश्वलाई तनावको साँघुरो बाटोमा धकेलिरहेको छ।





