११ बैशाख २०८३, शुक्रबार

मध्यपूर्वको आगोले अफ्रिकी अर्थतन्त्रमा निम्त्यायो शीतलता, विश्व बैंकद्वारा वृद्धिदर अनुमान घटुवा

वासिङ्टन । विश्व बैंकले भूराजनीतिक जोखिमलाई प्रमुख कारण देखाउँदै उप-सहारा अफ्रिकाको सन् २०२६ को आर्थिक वृद्धिदरको प्रक्षेपणलाई घटाएको छ। बुधबार सार्वजनिक गरिएको अफ्रिका इकोनोमिक अपडेटको पछिल्लो संस्करण अनुसार, अक्टोबर २०२५ को अनुमानको तुलनामा वृद्धिदर ०.३ प्रतिशत बिन्दुले घटाइएको छ।

प्रतिवेदनले एक दशक लामो विश्वव्यापी धक्कापछि उप-सहारा अफ्रिकाको आर्थिक पुनरुत्थानको गति अवरुद्ध हुने सङ्केत देखिएको उल्लेख गरेको छ। सन् २०२५ कै हाराहारीमा ४.१ प्रतिशतको वृद्धिदर कायम रहे पनि खाद्यान्न, इन्धन र मलखादको बढ्दो मूल्य तथा कसिलो वित्तीय अवस्थाका कारण मुद्रास्फीतिमा उछाल आउने र यसले आम्दानीको ठूलो हिस्सा खाद्यान्न र ऊर्जामा खर्च गर्ने क्षेत्रका अति विपन्न परिवारहरूमा असमान प्रभाव पार्ने प्रतिवेदनले चेतावनी दिएको छ।

विश्व बैंकका अनुसार, मध्यपूर्वको द्वन्द्वका कारण सन् २०२६ मा मुद्रास्फीति बढेर ४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। प्रतिवेदनले बाह्य वित्तीय स्रोतमा आएको गिरावट, विशेषगरी विकास सहायतामा भएको कटौतीले न्यून आय भएका मुलुकहरूमाथि थप दबाब सिर्जना गरिरहेको औंल्याएको छ।

विश्लेषकहरूका अनुसार, विश्वका ठूला अर्थतन्त्रहरूको ध्यान मध्यपूर्व र युक्रेन द्वन्द्वमा केन्द्रित हुँदा अफ्रिकी मुलुकहरूले प्राप्त गर्दै आएको वैदेशिक सहायता र लगानीमा कमी आएको छ। यसले महादेशको दीर्घकालीन विकास लक्ष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ। आगामी दिनमा खाद्य सुरक्षा र ऊर्जा आपूर्तिको सुनिश्चितता यस क्षेत्रका लागि प्रमुख चुनौती बन्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button