लाल सागरको प्रवेशद्वारमा चुनावी सरगर्मी
जिबुटीमा राष्ट्रपति गुएलेहको पक्षमा जनसागर उर्लियो

जिबुटी सिटी (जिबुटी) । लाल सागर र एडेनको खाडीको सङ्गममा अवस्थित रणनीतिक महत्त्वको सानो मुलुक जिबुटीमा आगामी शुक्रबार हुने राष्ट्रपतीय निर्वाचनको सरगर्मी चरमोत्कर्षमा पुगेको छ। मङ्गलबार राजधानी जिबुटी सिटीमा आयोजित चुनावी सभामा वर्तमान राष्ट्रपति तथा उम्मेदवार इस्माइल ओमर गुएलेहका हजारौं समर्थकहरूको उल्लासमय भीडले उनलाई ऐतिहासिक जित दिलाउने सङ्केत गरेको छ।

सन् १९९९ देखि निरन्तर सत्तामा रहेका ७८ वर्षीय गुएलेहले छैटौं कार्यकालका लागि जनमत मागिरहेका छन्। अफ्रिकाको सीङ क्षेत्रमा पर्ने यो मुस्लिम बाहुल्य मुलुकमा उनको सत्तारोहणयता स्थायित्व कायम भएको र चीन, अमेरिका, फ्रान्स तथा जापानजस्ता विश्वशक्तिहरूको सैन्य अड्डा रहँदै आएको छ। यही भौगोलिक र कूटनीतिक विशेषताका कारण जिबुटीको निर्वाचनलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ।
मङ्गलबारको चुनावी र्यालीमा गुएलेहका समर्थकहरूले राष्ट्रिय झण्डा, ब्यानर र प्लेकार्डसहित सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै राष्ट्रपति गुएलेहले पछिल्लो कार्यकालमा भएका पूर्वाधार विकास, बन्दरगाह विस्तार र युवा रोजगारीका कार्यक्रमहरूको चर्चा गरे। उनले भने, “जिबुटीलाई अफ्रिकाको सिङ्गापुर बनाउने मेरो सपना अधुरो छ। तपाईंहरूको साथ र विश्वासले मलाई यो यात्रा पूरा गर्न पुनः अवसर दिनेछ।”

यस निर्वाचनमा गुएलेहविरुद्ध केही विपक्षी उम्मेदवारहरू मैदानमा रहे पनि सत्तारूढ गठबन्धनको बलियो पकड र विपक्षी दलहरूको विभाजनका कारण उनको जित लगभग निश्चित मानिएको छ। यद्यपि, केही मानव अधिकारवादी सङ्घसंस्थाहरूले भने जिबुटीमा राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउँदै आएका छन्।
जिबुटीमा हुने राष्ट्रपतीय निर्वाचनको मतदान शुक्रबार (अप्रिल १०) मा हुनेछ। करिब १० लाख जनसङ्ख्या रहेको यो मुलुकमा झन्डै २ लाख ३० हजार मतदाता रहेका छन्।





