२९ बैशाख २०८३, मंगलवार

‘हिल स्टेट’को पहिचान र ८२० करोडको उपहार

मुख्यमन्त्री गोलेले अर्थमन्त्री सीतारमणसँग मागे सिक्किमको विकासमा थप साथ

गान्ताेक, सिक्किम । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले भारतकी केन्द्रीय अर्थ तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणसँग नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा मुख्यमन्त्रीले पहाडी राज्यहरूको विशेष विकास सहायताका लागि भर्खरै घोषित ८२० करोड भारतीय रुपैयाँको अतिरिक्त आवंटनप्रति सिक्किमवासीको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरे।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा भेटवार्ताको जानकारी दिँदै लेखेका छन्, “माननीय केन्द्रीय अर्थ तथा कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणजीसँग भेटवार्ता गर्ने सौभाग्य प्राप्त भयो। यो भेट न्यानो र रचनात्मक रह्यो।” उनले आर्थिक वर्ष २०२६–२७ का लागि ‘सास्की’ (SASCI) अन्तर्गत भाग–१० मा समावेश गरिएको “प्राइड अफ हिल्स : स्पेशल डेभलपमेन्ट असिस्ट्यान्स फर द हिल स्टेट्स” शीर्षकको विशेष व्यवस्थाले पहाडी राज्यहरूको मर्म बुझिएको बताए।

भेटका क्रममा मुख्यमन्त्रीले सिक्किमको पूर्वाधार विकास, वित्तीय सहायता सुदृढीकरण र दिगो विकासलाई गति दिने प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल गरेका थिए। उनले राज्यको समग्र प्रगतिका लागि केन्द्र सरकारको निरन्तर साथ र सहयोगको अपरिहार्यताबारे अर्थमन्त्रीलाई अवगत गराए।

यसैगरी, मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनामा सुरु भएको ‘भाइब्रेन्ट भिलेजेज’ (जीवन्त गाउँहरू) कार्यक्रम अन्तर्गत अर्थमन्त्री सीतारमणले गर्न लागेको भ्रमणप्रति हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरे। उनले सीमावर्ती क्षेत्रका बासिन्दाका लागि यो कार्यक्रम रूपान्तरणकारी र अत्यन्त लाभदायक साबित भइरहेको धारणा राखे।

पहाडी भूगोलको कठिनाइ र सीमित स्रोतसाधनका बाबजुद सिक्किमले हासिल गरेको विकासको गतिलाई थप माथि उठाउन केन्द्र सरकारको यो पछिल्लो सहयोग महत्त्वपूर्ण खुड्किलो साबित हुने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button