कृषिमन्त्री चाैहानसँग मुख्यमन्त्री गाेलेकाे अलैंचीको बास्नादार भेट !
मुख्यमन्त्री गोलेले कृषिमन्त्री चौहानलाई सिक्किमको स्वर्णिम महोत्सवमा बोलाए, जैविक खेतीदेखि 'ल्याब–टु–ल्याण्ड' सम्मको बहस

गान्तोक, सिक्किम । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले भारतका केन्द्रीय कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानसँग नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा मुख्यमन्त्रीले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन मन्त्री चौहानलाई निम्तो दिएका थिए, जुन निम्तो मन्त्रीले सहर्ष स्वीकार गरे।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा भेटवार्ताको जानकारी दिँदै लेखेका छन्, “माननीय केन्द्रीय कृषि तथा किसान कल्याण एवं ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानजीसँग शिष्टाचार भेटवार्ता गर्ने सौभाग्य प्राप्त भयो। यो भेट न्यानो, सौहार्दपूर्ण र अर्थपूर्ण रह्यो।”
भेटका क्रममा दुवै नेताबीच सिक्किमको कृषि क्षेत्रलाई सुदृढ बनाउने विषयमा व्यापक र दूरदर्शी छलफल भएको थियो। छलफलको केन्द्रमा सिक्किमको जैविक खेती अभ्यास, कृषि उपजको मूल्य अभिवृद्धि र उत्पादन प्रक्रियालाई थप व्यवस्थित बनाउने विषय रहेको मुख्यमन्त्रीले जानकारी दिए। राज्यको प्रमुख नगदे बाली अलैंचीको खेती विस्तार र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिइएको उनले बताए।

“अनुसन्धान र व्यवहारबीचको खाडललाई ‘ल्याब–टु–ल्याण्ड’ अवधारणामार्फत पुर्ने, भारतीय किसान मल सहकारी लिमिटेड (इफ्को) लगायत संस्थागत सहयोग प्रणालीलाई सुदृढ बनाउने विषयमा पनि गम्भीर छलफल भयो,” मुख्यमन्त्रीले भने। यसैगरी, कृषि प्रसार र उत्पादकत्व अभिवृद्धिका लागि सञ्चालित ‘विकसित कृषि सङ्कल्प अभियान’ को कार्यान्वयन र यसले सिक्किममा पुर्याउन सक्ने सम्भावित लाभबारे पनि विमर्श गरिएको थियो।
ग्रामीण विकास, पूर्वाधार निर्माण र अन्य प्रमुख विकास पहलहरूका विषयमा समेत छलफल भएको जनाइएको छ। मुख्यमन्त्री तामाङले सिक्किमको निरन्तर प्रगति र समृद्धिका लागि भारत सरकारले दिँदै आएको प्रोत्साहन र अटुट सहयोगप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरे।
सिक्किमलाई भारतकै पहिलो पूर्ण जैविक राज्य घोषणा गरिएको सन्दर्भमा कृषि क्षेत्रसँग सम्बन्धित यो उच्चस्तरीय भेटवार्ताले राज्यको कृषि नीति र कार्यक्रमहरूलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।





