तीन दिनभित्र चार हतियार परीक्षण उत्तर कोरियाको सैन्य शक्ति प्रदर्शन
इलेक्ट्रोम्याग्नेटिकदेखि कार्बन फाइबर बमसम्मको सफल जाँच

प्योङयाङ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) ले यसै साता तीन दिनको अवधिमा विभिन्न चार प्रकारका हतियार प्रणालीहरूको सफल परीक्षण गरेको छ। सरकारी स्वामित्वको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बिहीबार यो जानकारी दिएको हो।
समाचार संस्थाका अनुसार, सोमबारदेखि बुधबारसम्म सञ्चालित यी परीक्षणहरूमा विद्युत चुम्बकीय हतियार प्रणाली, कार्बन फाइबरयुक्त धोकाजन्य बम वर्षा गर्ने प्रणाली, मोबाइल छोटो दूरीको विमान भेदी क्षेप्यास्त्र प्रणाली तथा व्यूहात्मक ब्यालेस्टिक क्षेप्यास्त्रको वारहेडको युद्धकालीन प्रयोग र क्लस्टर हतियार क्षमता समावेश रहेको बताइएको छ।
राष्ट्रिय रक्षा विज्ञान प्रतिष्ठान र क्षेप्यास्त्र प्रशासनद्वारा सम्पन्न यी परीक्षणहरूबारे क्षेप्यास्त्र प्रशासनलाई उद्धृत गर्दै भनिएको छ, “यी परीक्षणहरू उत्तर कोरियाको सशस्त्र बलको विकासका लागि ठूलो महत्त्वका छन् र हतियार प्रणालीहरूको निरन्तर विकास तथा स्तरोन्नति गर्न प्रशासन र यसअन्तर्गतका रक्षा वैज्ञानिक अनुसन्धान संस्थानहरूले गर्ने नियमित गतिविधिको एक भाग हुन्।”
विश्लेषकहरूका अनुसार, विशेषगरी विद्युत चुम्बकीय हतियार र कार्बन फाइबर बम जस्ता अपरम्परागत तथा अत्याधुनिक हतियार प्रणालीको परीक्षणले उत्तर कोरियाले आफ्नो सैन्य क्षमतामा विविधता ल्याउनुका साथै शत्रु पक्षको विद्युतीय सञ्जाल र सञ्चार प्रणाली ध्वस्त पार्ने क्षमतामा जोड दिइरहेको सङ्केत गर्छ। यो परीक्षण यस्तो समयमा भएको छ, जब कोरियाली प्रायद्वीप र वृहत् एसिया-प्रशान्त क्षेत्रमा भूराजनीतिक तनाव निरन्तर उच्च छ।





