कोरियाली घरपरिवारको बचतमा अभूतपूर्व छलाङ
१७ वर्षकै उच्च विन्दुमा पुगेको 'बचतको भकारी

सोल । दक्षिण कोरियाली घरपरिवारहरूको बचत रकम गत वर्ष कीर्तिमानी उचाइमा पुगेको छ। आय वृद्धिको तुलनामा खर्चमा भएको सुस्तता र नयाँ अपार्टमेन्टहरूमा सर्नेको सङ्ख्यामा आएको कमीले बचतको यो अङ्कलाई ऐतिहासिक बनाइदिएको हो।
बैंक अफ कोरिया (केन्द्रीय बैंक) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, घरपरिवार तथा गैर-नाफामूलक संस्थाहरूले सञ्चित गरेको कुल वित्तीय सम्पत्तिमध्येबाट वित्तीय ऋण घटाउँदा हुने शुद्ध बचत रकम सन् २०२५ मा बढेर २६९.७ ट्रिलियन वन (करिब १८२.२ अर्ब अमेरिकी डलर) पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ५४.२ ट्रिलियन वन (करिब ३६.६ अर्ब अमेरिकी डलर) ले बढी हो।
केन्द्रीय बैंकका अनुसार, सन् २००९ मा यस प्रकारको तथ्याङ्क सङ्कलन सुरु गरिएयताकै यो अहिलेसम्मकै उच्च बिन्दु हो। विश्लेषकहरूले यसलाई दक्षिण कोरियाली अर्थतन्त्रको एउटा सकारात्मक सङ्केतका रूपमा अर्थ्याएका छन्।
यो कीर्तिमानी बचतका पछाडि प्रमुख दुई कारणहरू रहेको केन्द्रीय बैंकले जनाएको छ। पहिलो, आम्दानीमा भएको वृद्धिको तुलनामा उपभोग खर्चमा भएको सुस्त वृद्धि। दोस्रो, नयाँ आवासीय अपार्टमेन्टहरूमा सर्ने (मुभ-इन) दरमा आएको कमी, जसले गर्दा घरजग्गा खरिद वा भाडामा हुने ठूलो खर्च रोकिएको छ। यसले समग्रमा कोरियाली परिवारहरूको हातमा नगद प्रवाह बढी भएको र उनीहरू ठूला आर्थिक निर्णयहरू लिन हाल सचेत रहेको देखाउँछ।





