९ बैशाख २०८३, बुधबार

हाइटीको ऐतिहासिक किल्लामा भागदौड : युवा कार्यक्रममा भीडको चापले ३० को मृत्यु, दर्जनौं घाइते

काप–हाइटियन (हाइटी) । हाइटीको उत्तरी क्षेत्रस्थित ऐतिहासिक किल्ला सिटाडेल लाफेरिएरमा शनिबार एक युवा कार्यक्रमका क्रममा भीडको चापले भागदौड मच्चिँदा करिब ३० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यम हाइटियन टाइम्सका अनुसार काप–हाइटियन सहर नजिकैको उक्त किल्लामा हजारौं मानिसहरू भेला भएका बेला यो घटना घटेको हो।

काप–हाइटियनका उपमेयर प्याट्रिक आल्मोनोर्डले एक विज्ञप्तिमा भीडभित्रको चहलपहलले “अत्यन्त गम्भीर” भागदौडको अवस्था सिर्जना गरेको बताए। उनले मृतकको सङ्ख्या करिब ३० रहेको र दर्जनौं घाइते भएको जानकारी दिए। यो तथ्याङ्क अझै परिवर्तन हुनसक्ने उनले बताए।

घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पुर्याइएको छ भने स्थानीय अधिकारीहरू र नागरिक सुरक्षा टोलीहरूको एक संयुक्त प्रतिनिधिमण्डल उद्धार प्रयासहरूमा सहयोग गर्न पठाइएको छ। अधिकारीहरूका अनुसार उक्त कार्यक्रमलाई धेरै सामाजिक सञ्जाल प्रभावकहरूले प्रचारप्रसार गरेका थिए, जसले गर्दा उक्त स्थानको क्षमताभन्दा धेरै बढी भीड जम्मा भएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरू र प्रत्यक्षदर्शीहरूको विवरणअनुसार प्रवेश र निकास दुवैका लागि एउटा मात्र ढोका खुला राखिएको थियो, जसले भीड बढ्दै जाँदा चरम घुइँचो सिर्जना गरेको थियो। कार्यक्रमका आयोजकहरूले उक्त स्थलको व्यवस्थापन गर्ने राष्ट्रिय सम्पदा संरक्षण संस्थानबाट आधिकारिक अनुमति लिएका थिए कि थिएनन् भन्नेबारे अधिकारीहरूले पुष्टि गरेका छैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button