हङ्गेरीमा ओर्बानको १५ वर्षे शासनको अन्त्य : विपक्षी तिसा पार्टीलाई स्पष्ट बहुमत, कीर्तिमानी ७७.८ प्रतिशत मतदान

बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आइतबार सम्पन्न संसदीय निर्वाचनमा पराजय स्वीकार गरेका छन्। आंशिक नतिजाहरूले विपक्षी तिसा पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको देखाएपछि ओर्बानले हार स्वीकार गरेका हुन्। तिसाका नेता पिटर माग्यारले सामाजिक सञ्जालमा ओर्बानले आफूलाई फोन गरी पार्टीको विजयमा बधाई दिएको जानकारी दिएका छन्।
राष्ट्रिय निर्वाचन कार्यालयले ८१.४९ प्रतिशत मतगणना सम्पन्न हुँदा तिसा पार्टीले ५३.५३ प्रतिशत मत प्राप्त गरेको छ र १३७ सिट जित्ने प्रक्षेपण गरिएको छ। ओर्बानको सत्तारूढ गठबन्धन फिडेज र क्रिस्चियन डेमोक्रेटिक पिपुल्स पार्टी (केडीएनपी) ले ३७.८४ प्रतिशत मत प्राप्त गरेको छ र ५५ सिट जित्ने अनुमान गरिएको छ।
करिब ८१ लाख योग्य मतदाताहरूमध्ये झन्डै ७५ लाख २० हजार हङ्गेरीवासीले मतदान गरेका थिए, जसले गर्दा करिब ७७.८ प्रतिशतको कीर्तिमानी मतदान भएको छ। हङ्गेरीको निर्वाचन कानुनअनुसार संसदीय निर्वाचन प्रत्येक चार वर्षमा हुन्छ। हङ्गेरीको संसदमा १९९ सिट रहेको छ, जसमध्ये १०६ सिट एकल सदस्यीय निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ९३ सिट संसदमा प्रवेश गर्ने दलहरूबीच बाँडिन्छ।
यो निर्वाचन परिणामसँगै सन् २०१० देखि लगातार सत्तामा रहेका ओर्बानको १५ वर्षे शासनको अन्त्य भएको छ। स्थानीय सञ्चारमाध्यमहरूको प्रत्यक्ष प्रसारणअनुसार ६०.२४ प्रतिशत मतगणना हुँदा नै तिसा पार्टीले ५२.८ प्रतिशत मतसहित १३६ सिट जित्ने प्रक्षेपण गरिएको थियो भने सत्तारूढ गठबन्धनले ३८.५५ प्रतिशत मतसहित ५६ सिट जित्ने अनुमान गरिएको थियो।





