तीन वर्षमा सुडान सङ्कट झन् गहिरो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सुडानी गृहयुद्धको तेस्रो वार्षिकोत्सवको अवसरमा विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपत्कालीन राहत संयोजक टम फ्लेचरले सुडान विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कटको केन्द्र बनेको बताए। उनले भने, “सुडानमा करिब ३ करोड ४० लाख मानिस अर्थात प्रत्येक तीन जनामध्ये झण्डै दुई जनालाई मानवीय सहायताको आवश्यकता छ। भोकमरीले कसिलो पकड जमाइरहेको छ, बालबालिका गम्भीर कुपोषणको सिकार भइरहेका छन् र महिला तथा बालिकाहरू व्यापक तथा क्रूर हिंसाको शिकार भइरहेका छन्।”
संयुक्त राष्ट्रसङ्घ राहत प्रमुखले लडाइँ रोक्न, नागरिकको सुरक्षा गर्न, सुरक्षित र अवरोधरहित मानवीय पहुँच सुनिश्चित गर्न तथा जीवनरक्षक कार्यहरू निरन्तरता दिन आवश्यक कोष परिचालन गर्न तत्काल कदम चाल्न आह्वान गरे।
यूएन वुमेनका अनुसार लैङ्गिक हिंसा भोगेपछि सहायताको खाँचो पर्ने महिला र बालिकाको सङ्ख्या दुई वर्षमा झण्डै दोब्बर र युद्ध सुरु भएयता चार गुणाले बढेको छ। यूएन वुमेनकी पूर्वी तथा दक्षिणी अफ्रिका क्षेत्रीय निर्देशक अन्ना मुटाभाटीले भनिन्, “महिला र बालिकाहरू आफ्नै घरमा, भाग्ने क्रममा, खाना, पानी र चिकित्सा सेवा खोज्दा बलात्कृत र मारिँदै छन्। यौन हिंसाको प्रयोग सुडान युद्धको खाकामै गाँसिएको छ।”
यूएन वुमेनले मङ्गलबार सार्वजनिक गरेको नयाँ लैङ्गिक चेतावनी प्रतिवेदन अनुसार सुडानमा ४३ लाखभन्दा बढी महिला र बालिका विस्थापित भएका छन् भने १ करोड ७१ लाखलाई मानवीय सहायताको आवश्यकता छ। धेरैजसोका लागि खाना, आश्रय वा चिकित्सा सेवामा पहुँच सीमित वा पूर्णतया अवरुद्ध छ।
सुडानस्थित युनिसेफकी सञ्चार प्रमुख इभा हिन्ड्सले यस वर्षको पहिलो तीन महिनामा मात्र कम्तीमा २४५ बालबालिका मारिएको वा घाइते भएको जानकारी दिइन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “गत वर्षको सोही अवधिको तुलनामा यो तीव्र वृद्धि हो। यीमध्ये अधिकांश बालबालिका डार्फर र कोर्दोफान राज्यहरूमा मारिएका वा घाइते भएका थिए, जहाँ हिंसा दैनिक जीवनको निरन्तर अङ्ग बनेको छ।”
उनका अनुसार युद्ध सुरु भएयता संयुक्त राष्ट्रसङ्घले सुडानभरि बालबालिकाविरुद्ध ५७ सयभन्दा बढी गम्भीर उल्लङ्घनहरूको पुष्टि गरेको छ। ४३ सयभन्दा बढी बालबालिका मारिएका वा अपाङ्ग भएका छन्, जसमा पनि डार्फर र कोर्दोफान राज्यहरूकै सङ्ख्या सबैभन्दा बढी रहेको छ।
हिन्ड्सले लडाइँ, क्षतिग्रस्त पूर्वाधार र प्रशासनिक अवरोधहरूका कारण देशका ठूला भागहरू अझै सम्पर्कविच्छेद भएकाले मानवीय पहुँच प्रमुख चुनौती बनेको बताइन्। युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भनिन्, “तीन वर्षदेखि सुडानभरिका बालबालिका अचम्मलाग्दो स्तरमा मारिँदै, घाइते हुँदै र विस्थापित हुँदै आएका छन्। उनीहरूका घर, विद्यालय र अस्पतालहरूमाथि निरन्तर आक्रमण भइरहेको छ। बालबालिकाविरुद्धको हिंसाको कुनै औचित्य छैन।”
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार यस वर्षको पहिलो तीन महिनामा मात्र ड्रोन आक्रमणबाट करिब ७ सय नागरिकको मृत्यु भएको छ। पूर्वी डार्फर राज्यको एड डाइनमा सोमबार भएको ड्रोन आक्रमणमा ९ जना नागरिक मारिएका र २७ जना घाइते भएका छन्। ओसीएचएले हिंसा रोकिनुपर्ने, अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा हुनुपर्ने र मानवीय पहुँच द्रुत, सुरक्षित, अवरोधरहित तथा निरन्तर हुनुपर्नेमा जोड दिएको छ। फ्लेचरले यो गम्भीर वार्षिकोत्सवले विश्व सुडानको परीक्षामा असफल भएको अर्को वर्षको रूपमा चिह्नित गरेको बताए।





