७ बैशाख २०८३, सोमबार

खजुरा गोल्डकपलाई अमेरिकाबाट सात लाख सहयोग, पिताको स्मृतिमा लिलबहादुर थापाद्वारा आर्थिक सहयोग

खजुरा, बाँके — बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रङ्गशालामा जारी प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि अमेरिकाबाट सात लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले प्रतियोगिता सञ्चालनका लागि व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। सहयोग रकम लिलबहादुर थापाका दाजु न्यू डाँफे स्पाेर्ट्स क्लबका पुराना खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी धावक बालवीर थापाले हस्तान्तरण गरेका थिए।

आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भएको जानकारी दिए। थापाले आफ्ना स्वर्गीय पिता गजबहादुर सिजालीको स्मृतिमा क्लबलाई उक्त आर्थिक सहयोग गरेको बताएका छन्। स्वर्गीय सिजाली न्यू डाँफे स्पोर्ट्स क्लबका संस्थापक अध्यक्ष समेत थिए।

लिलबहादुर थापाले भने, “गाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोली ल्याएर गोल्डकप सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। क्लबले गरेको प्रयासमा व्यक्तिगत रूपमा सहयोग गर्न पाउँदा खुसी लागेको छ।”

अमेरिकाबाट पठाइएको उक्त रकम थापाका दाजु बालवीर थापा लगायत परिवारका सदस्यहरूले क्लब अध्यक्ष खत्रीलाई हस्तान्तरण गरेका हुन्।

क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीले सहभागिता जनाइरहेका छन्। आयोजकका अनुसार प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले चार लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद लगायतले पनि आर्थिक सहयोग गरेका छन्।

क्लबले आफ्नो ब्यानरमा गजबहादुर सिंजालीकाे फाेटाे राखेर “गजबहादुर सिंजाली प्रथम खजुरा गाेल्ड कप” नाम राख्नु पर्नेमा त्यस्तो नगरी “एम्टी एरेना खजुरा गाेल्ड कप” राखेपछि अवसरवादी चरित्र देखाएको र स्थानीय ब्यक्तिकाे याेगदानकाे कदर नगरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्। बाबुको नाममा फुटबल प्रतियोगिता आयोजना हुन लागेकोमा खुशी हुँदै यति ठूलो धनराशि लिलबहादुर थापाले सहयोग गरेका भए पनि गजबहादुर सिंजालीकाे नामलाई लुकाउने प्रयास गरिएको भन्दै दु:ख ब्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button