ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण, उपत्यकाकै लामो जात्राको औपचारिक सुरुवात

ललितपुर — ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाइँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ। वर्षा र सहकालका देवताका रूपमा पूजित रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष आयोजना हुने यस जात्राअन्तर्गत तिथिअनुसार यस वर्ष पनि विधिवत रूपमा रथारोहण गरिएको हो।
गुठी संस्थानका अनुसार रथ निर्माणको कार्य पूरा भएपश्चात शनिबार मच्छिन्द्रबहालस्थित मन्दिरबाट रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुलचोक पुर्याइएको थियो। त्यहाँ विशेष पूजाअर्चना गरी मूर्तिलाई रथमा विराजमान गराइएको छ। रथ निर्माणसँग सम्बद्ध बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत परम्परागत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहणको कार्य गरिएको हो।
यसैबीच, तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथलाई गाबहालतर्फ तानिने कार्यक्रम निर्धारण गरिएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा महिनौंसम्म चल्ने हुँदा यसलाई उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ।





