२० बैशाख २०८३, आईतवार

आन्तरिक कमजोरी र बाह्य चलखेलबीच नेकपाको चुनावी हार

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो प्रदर्शन अपेक्षाभन्दा निकै कमजोर रहेको स्वीकार्दै हारका पछाडि आन्तरिक र बाह्य दुवै कारण रहेको निष्कर्ष निकालेको छ। निर्वाचनअघि नेकपाले प्रत्यक्षतर्फ ३० भन्दा बढी र समानुपातिकमा कम्तीमा १७ लाख मत ल्याउने विश्लेषण गरेको थियो, तर अन्तिम परिणाममा प्रत्यक्षतर्फ मात्र ८ सिट र समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत (९ सिट) प्राप्त गरेको छ। पार्टी संयोजक दाहालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार चुनाव प्रचारका क्रममा धेरै क्षेत्रबाट ६० सिटसम्म जित्ने रिपोर्ट आएको थियो तर अन्तिम नतिजा सबै आकलनभन्दा विपरीत आयो।

नेकपाले हारको कारण आन्तरिक रूपमा ११ बुँदे र बाह्य रूपमा ६ बुँदे कारण औंल्याएको छ। आन्तरिक कारणमध्ये पहिलो हो– क्रान्तिपछि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हुन नसक्नु। प्रतिवेदनमा उल्लेख छ– २०७४ को चुनावमा जनताले कम्युनिष्टहरूलाई करिब दुई तिहाइ बहुमत दिए पनि त्यसबेला बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा पार्टी एकतै भंग भयो र कम्युनिष्टप्रति जनताको विश्वास गुम्दै गयो। त्यसपछि बनेका सरकारहरूले पनि रूपान्तरणको अभियान चलाउन सकेनन्। दाहालले आफ्नै नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका केही प्रयास गरे पनि कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि ती काम रोकिएको तर्क गरेका छन्। प्रतिवेदनमा भनिएको छ– “कांग्रेस–एमालेको करिब दुई तिहाइको सरकारले पनि भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र विकासमा केही नगरेपछि जनता आजित भए। व्यवस्था बदलिए पनि अवस्था नबदलिएको प्रचारले चुनावमा ठूलो असर पार्यो।”

अन्य आन्तरिक कारणहरूमा संगठनात्मक समायोजन नहुनु, स्थानीय कार्यकर्ता परिचालन कमजोर हुनु, आन्तरिक मतभेद र गुटगत गतिविधि, विचारधारात्मक कामको अभाव, युवाहरू पार्टीमा आबद्ध नहुनु, र वाम शक्तिबीच एकता नहुनु मुख्य छन्। प्रतिवेदनले नौ वटा कम्युनिष्ट पार्टीले एक्लाएक्लै चुनाव लड्दा समानुपातिकतर्फ ४० लाखभन्दा बढी मत प्राप्त गरेको तथ्यांक देखाउँदै भनेको छ– “वाम शक्ति एकताबद्ध भएको भए अझै बढी मत आउन सक्थ्यो।” यस्तै, जनतालाई परिवर्तनको महत्व बुझाउन नसक्नु, वाम सरकारले गरेका कामको प्रचार नहुनु, र सत्ताकेन्द्रित राजनीतिमा अलमलिएको आरोप पनि नेकपाले आफैं स्वीकारेको छ। दाहाल लेख्छन्– “जनताले हामी सिद्धान्त छाडेर सत्ता केन्द्रित राजनीतिमा अलमलिएको देखे, त्यसले विश्वास घटायो।” अवसरवादी प्रवृत्ति, व्यक्तिकार्यशैली, प्राविधिक जनशक्ति र स्रोतको अभाव, र आफूलाई एमाले–कांग्रेसभन्दा भिन्न देखाउन नसक्नु पनि हारको कारणका रूपमा उल्लेख गरिएको छ।

बाह्य कारणतर्फ नेकपाले भूराजनीतिक चलखेललाई मुख्य मानेको छ। प्रतिवेदनअनुसार विभिन्न बाह्य शक्ति केन्द्रहरू आफ्नो अनुकूल सरकार बनाउन सक्रिय भए, र तिनले परिचालित संघसंस्थाहरू मार्फत वामपन्थी दलहरूमाथि प्रहार गरे। पश्चिमा मिडिया र डिजिटल प्लेटफर्महरूले पूर्वाग्रही मत सर्वेक्षण र नकारात्मक प्रचार गरी निर्वाचनलाई प्रभावित पारेको दाबी नेकपाको छ। साथै, फेक अकाउन्ट, ट्रोल समूह प्रयोग गरी सामाजिक सञ्जालमा वाम नेताहरूको बदनाम गरिएको, विवादास्पद सामग्री भाइरल बनाई वाम शक्तिको छवि धुमिल पारिएको प्रतिवेदनमा उल्लेख छ। लोकप्रियतावादी शक्तिको प्रचार र प्रहार, तथा विदेशमा बस्ने नेपालीहरूको भूमिकालाई पनि पराजयको बाह्य कारणका रूपमा देखाइएको छ।

नेकपाको अन्तिम निष्कर्ष छ– “असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम पनि असामान्य आएको छ। यसले लोकप्रियतावादी शक्तिलाई सत्तासिन बनाएको छ भने पुराना ठूला दलहरू, राजावादी र पहिचानवादी शक्तिहरूलाई समेत कमजोर बनाएको छ।” यस नतिजाले एउटा पार्टीले बहुमत ल्याउन सक्दैन भन्ने धारणालाई खण्डित गरेको पनि प्रतिवेदनको दाबी छ। नेकपा नेता प्रकाश ज्वालाले यो समीक्षा यथार्थपरक रहेको र यसैका आधारमा आगामी कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button