८ बैशाख २०८३, मंगलवार

रुटे वासिङ्टनमा, ट्रम्पको तिखो प्रहार

"हामीलाई चाहिँदा नेटो थिएन, अब पनि हुनेछैन, अनि ग्रीनल्याण्ड नभुल्नुस् !"

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव मार्क रुटे वासिङ्टन भ्रमणमा रहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य गठबन्धनप्रति तिखो आक्रोश पोखेका छन्। बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै ट्रम्पले भनेका छन्, “हामीलाई चाहिएको बेला नेटो थिएन, र फेरि चाहियो भने पनि उनीहरू हुनेछैनन्।”

महासचिव रुटेको भ्रमणको पूर्वसन्ध्यामा आएको यो अभिव्यक्तिले ट्रान्सएट्लान्टिक सम्बन्धमा चिसोपन कायमै रहेको सङ्केत गरेको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै युरोपेली सहयोगी राष्ट्रहरूले रक्षा बजेटमा पर्याप्त लगानी नगरेको भन्दै नेटोको आलोचना गर्दै आएका थिए। उनले अमेरिकाले मात्र गठबन्धनको भारी बोक्न नहुने र सबै सदस्य राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको न्यूनतम प्रतिशत रक्षामा खर्च गर्नुपर्ने अडान दोहोर्याउँदै आएका छन्।

यसै पोस्टमा ट्रम्पले अर्को विवादास्पद टिप्पणी गर्दै लेखेका छन्, “अनि ग्रीनल्याण्ड नभुल्नुस्, बरफको त्यो ठूलो र कमजोर रूपमा चलाइएको टुक्रा !” ट्रम्पले आफ्नो पहिलो कार्यकालमै डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड खरिद गर्ने इच्छा व्यक्त गरेपछि अन्तर्राष्ट्रिय विवाद चर्किएको थियो। उनको यो पछिल्लो अभिव्यक्तिले आर्कटिक क्षेत्रको रणनीतिक र खनिज सम्पदाले भरिपूर्ण उक्त विशाल टापुप्रतिको अमेरिकी चासो पुनः सतहमा ल्याएको छ।

विश्लेषकहरूका अनुसार, रुटेको भ्रमणको मुख्य उद्देश्य युक्रेन युद्ध र रुसी खतराका सन्दर्भमा अमेरिका र युरोपबीचको रक्षा सहकार्यलाई बलियो बनाउनु रहेको थियो। तर ट्रम्पको यो अभिव्यक्तिले वार्ताको वातावरण बिगार्न सक्ने र नेटोभित्रको एकता कमजोर भएको सन्देश जाने ठहर गरिएको छ। महासचिव रुटेले भने यसअघि नै ट्रम्पको आलोचनालाई सकारात्मक रूपमा लिँदै युरोपेली राष्ट्रहरूले रक्षा खर्च बढाउनुको श्रेय ट्रम्पलाई दिनुपर्ने बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button