डिज्नीको ‘म्याजिक किङडम’ मा कर्मचारी कटौतीको कालो बादल
नयाँ प्रमुखकै पहिलो निर्णयमा एक हजारले गुमाउने रोजगारी

न्युयोर्क । विश्वव्यापी मनोरञ्जन र सञ्चार क्षेत्रको महारथी मानिने अमेरिकी कम्पनी वाल्ट डिज्नीले आगामी केही साताभित्रै करिब एक हजार कर्मचारीहरूलाई बर्खास्त गर्ने तयारी गरेको छ। द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै बुधबार दिएको समाचार अनुसार, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोस डी’आमारोले पद सम्हालेपछि गर्न लागेको यो पहिलो ठूलो र महत्त्वपूर्ण निर्णय हुनेछ।
प्रतिवेदनका अनुसार, कटौतीको मारमा पर्ने धेरैजसो पदहरू कम्पनीको भर्खरै एकीकरण गरिएको मार्केटिङ विभागका हुनेछन्। हलिउडका अन्य स्टुडियोहरू जस्तै डिज्नीले पनि परम्परागत टेलिभिजनको तुलनामा स्ट्रिमिङ सेवाबाट हुने नाफामा आएको गिरावट, बक्स अफिस आम्दानीमा भएको कमी र प्राविधिक कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धाका कारण आफूलाई पुनर्संरचना गर्न खोजिरहेको बताइएको छ।
साथै, डिज्नीले वृद्धिको सम्भावना देखेका डिजिटल व्यवसायहरूमा लगानी गर्नका लागि आवश्यक पुँजी व्यवस्थापन गर्न पनि यो कटौतीलाई एक उपायको रूपमा लिइएको प्रतिवेदनले उल्लेख गरेको छ। डी’आमारोका पूर्ववर्ती बब इगर सन् २०२२ मा सीईओको रूपमा फर्किएर ठूलो पुनर्संरचना सुरु गरेयता डिज्नीले अहिलेसम्म ८ हजारभन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गरिसकेको छ। आगामी कटौतीको योजना भने डी’आमारोले पदभार सम्हाल्नुअघि नै सुरु भइसकेको स्रोतहरूको हवाला दिँदै समाचारमा जनाइएको छ।
गत मार्च १८ मा औपचारिक रूपमा वाल्ट डिज्नी कम्पनीको ५४ वर्षीय सीईओ बनेका जोस डी’आमारोले पदभार सम्हालेको एक महिना पनि नबित्दै कर्मचारी कटौतीको यो कठोर निर्णय लिनुले कम्पनीको आन्तरिक व्यवस्थापनमा ठूलो हलचल ल्याउने निश्चित छ। डिज्नीमा २८ वर्ष लामो अनुभव बटुलेका डी’आमारो यसअघि सन् २०२० देखि डिज्नी एक्सपेरियन्सेज खण्डका अध्यक्ष तथा त्योभन्दा अगाडि वाल्ट डिज्नी वर्ल्ड रिसोर्टका अध्यक्षको जिम्मेवारीमा थिए।





