८ बैशाख २०८३, मंगलवार

मध्यपूर्वको आगोले एसियाको विकासमा धक्का

एडीबीको चेतावनी: तेलको मूल्य बढ्यो भने वृद्धिदर ४.७% मा झर्छ, मुद्रास्फीति ५.६% पुग्छ

मनिला (फिलिपिन्स) । एसियाली विकास बैंक (एडीबी) ले मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी भूराजनीतिक जोखिम बढाएको र विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धिका लागि नकारात्मक जोखिमलाई थप गहिरो बनाएको चेतावनी दिएको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको ‘एसियाली विकास परिदृश्य अप्रिल २०२६’ प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो।

प्रतिवेदनअनुसार मध्यपूर्वमा प्रारम्भिक स्थिरता कायम भएको परिदृश्यमा विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२५ को ५.४ प्रतिशतबाट घटेर सन् २०२६ र २०२७ दुवै वर्ष ५.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

तर, यदि मध्यपूर्वमा अवरोध सन् २०२६ को तेस्रो त्रैमासिकसम्म कायम रहेमा भने वृद्धिदर सन् २०२६ मा ४.७ प्रतिशत र सन् २०२७ मा ४.८ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीले जनाएको छ।

एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले उच्च ऊर्जा मूल्यले उत्पादन लागत र उपभोक्ता मूल्य वृद्धि गराउने बताए। उनले गत वर्ष अमेरिकी भन्सार वृद्धिअघि अग्रिम रूपमा भएको मालसामान ढुवानीपछि निर्यात वृद्धि सामान्यीकरण हुने पनि औंल्याए। उनले थप निरन्तर अवरोधले मुद्रास्फीतिको अवस्था झनै खराब बनाउने र क्षेत्रभरिको वृद्धिमा थप दबाब पार्ने चेतावनी दिए।

एडीबीको पूर्वानुमानअनुसार प्रारम्भिक स्थिरताको परिदृश्यमा मुद्रास्फीति सन् २०२५ को ३ प्रतिशतबाट बढेर सन् २०२६ मा ३.६ प्रतिशत र सन् २०२७ मा ३.४ प्रतिशत हुने अनुमान गरिएको छ। तर, मध्यपूर्वमा तनाव सन् २०२६ को तेस्रो त्रैमासिकसम्म लम्बिएमा भने यस वर्ष मुद्रास्फीति ५.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनले विकासशील एसिया र प्रशान्त क्षेत्रको मध्यपूर्वी अर्थतन्त्रहरूसँग प्रत्यक्ष व्यापार सम्पर्क सामान्य मात्र भए पनि विश्वव्यापी ऊर्जा बजार, व्यापार तथा यातायात सञ्जाल र वित्तीय अवस्थामार्फत प्रसारित हुने प्रभावहरूप्रति यो क्षेत्र अत्यन्त सङ्कटापन्न रहेको उल्लेख गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button