८ बैशाख २०८३, मंगलवार

आँधीदेखि गर्मीको लहरसम्म, अब क्यानडाको मौसम पूर्वानुमानमा कृत्रिम बुद्धिमताको प्रवेश : एक दिन अगावै चेतावनी पाइने

ओटावा (क्यानडा) । क्यानडाले आफ्नो मौसम पूर्वानुमानलाई थप सटीक बनाउन परम्परागत विधिसँग कृत्रिम बुद्धिमता (एआई) लाई संयोजन गर्ने भएको छ। वातावरण तथा जलवायु परिवर्तन क्यानडा विभागले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार एआईको यो रणनीतिक प्रयोगले सार्वजनिक सुरक्षा बढाउने, आपत्कालीन तयारीलाई सुधार्ने र उच्च प्रभाव पार्ने मौसमी घटनाक्रमहरूमा प्रतिक्रिया जनाउन क्यानडावासीलाई थप समय उपलब्ध गराउनेछ।

विभागका अनुसार एआई मोडेलहरूले सम्पूर्ण महादेशहरूको दशकौं पुरानो ऐतिहासिक तथ्याङ्कलाई केही मिनेटमै विश्लेषण गरेर वायुमण्डलको व्यवहार कसरी हुन्छ भन्ने सिक्ने गर्दछन्। यो हाइब्रिड मोडेलले तीव्र हावा वा गर्मीको लहरजस्ता चरम मौसमी घटनाहरूको अझ सटीक पूर्वानुमान गर्न सक्ने जनाइएको छ।

यो नयाँ हाइब्रिड मोडेल लागू भएपछि अहिले पाँच दिनको जति सटीक रहने पूर्वानुमान अब छ दिनसम्म उत्तिकै भरपर्दो हुनेछ। ठूला पैमानाको सटीकतामा आउने यो सुधारले प्रमुख मौसमी प्रणालीहरूको पूर्वानुमान ८ देखि २४ घन्टाभन्दा अगावै गर्न सकिने विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो एक वर्षदेखि वातावरण तथा जलवायु परिवर्तन क्यानडाका वैज्ञानिक र मौसमविद्हरूले यो हाइब्रिड मोडेलको व्यापक परीक्षण गर्दै आएका थिए। उनीहरूले क्यानडाको मौसमी अवस्थाको पूर्वानुमान गर्न यसको कार्यसम्पादन मूल्याङ्कन गर्न यसलाई परम्परागत मोडेलसँग समानान्तर रूपमा सञ्चालन गरेका थिए।”

मौसम पूर्वानुमानमा एआईको यो प्रयोगले प्राकृतिक विपत्तिको पूर्वतयारी र जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। विश्वव्यापी रूपमा जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू बढिरहेका बेला क्यानडाको यो कदमलाई प्रविधिको सकारात्मक उपयोगको उदाहरणका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button