इस्लामाबादमा हुने अमेरिका–इरान वार्तालाई संयुक्त राष्ट्र महासचिवको स्वागत : ‘दिगो सम्झौताका लागि यो अवसरको सदुपयोग गर्नुहोस्’

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा यस साताको अन्त्यमा हुने तय भएको अमेरिका–इरान वार्तालाई संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेको उनको प्रवक्ताले शुक्रबार जानकारी दिएका छन्। प्रवक्ता स्टेफान डुजारिकले दैनिक पत्रकार सम्मेलनमा भने, ‘उहाँले पक्षहरूलाई यो कूटनीतिक अवसरलाई सदुपयोग गरी तनाव न्यूनीकरण र शत्रुता पुनः सुरु हुनबाट रोक्ने उद्देश्यले दिगो र व्यापक सम्झौताका लागि इमानदारीपूर्वक संलग्न हुन आह्वान गर्नुहुन्छ।’
डुजारिकले भने, ‘महासचिवले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानको कुनै व्यवहारिक विकल्प नरहेको पुनः उल्लेख गर्नुहुन्छ, जुन पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र बडापत्रअनुरूप हुनुपर्छ।’ डुजारिकले थपे, ‘मध्यपूर्व द्वन्द्व र यसको परिणामका लागि महासचिवका व्यक्तिगत दूत जीन अर्नल्ट कूटनीतिक प्रयासलाई समर्थन गर्न क्षेत्रमै रहनुभएको छ।’
यो वार्ता इरान–अमेरिका युद्धविरामपछि हुन लागेको पहिलो उच्चस्तरीय कूटनीतिक पहल हो। पाकिस्तानले दुवै पक्षबीच पुलको भूमिका खेल्दै यो वार्ता आयोजना गर्ने जिम्मा लिएको छ। संयुक्त राष्ट्रको यो स्वागतले वार्ताप्रति अन्तर्राष्ट्रिय समुदायको सकारात्मक अपेक्षा रहेको संकेत गरेको छ।





