८ बैशाख २०८३, मंगलवार

एउटै होटल, छुट्टै कोठा, पाकिस्तानी सन्देशवाहक : अमेरिका–इरान वार्ताको ढाँचामा अन्योल कायमै

इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा हुन लागेको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताको ढाँचा अझै अनिश्चित रहेको एक स्रोतले शनिबार बताएको छ। समाचार एजेन्सी सिन्ह्वासँग टेलिफोन अन्तर्वार्तामा स्रोतले वार्ताका लागि आमनेसामने वार्ता र छुट्टाछुट्टै कोठामा बसेर हुने वार्ता दुवै खालका व्यवस्था मिलाइएको जानकारी दिए।

स्रोतका अनुसार पाकिस्तानले दुवै परिदृश्यका लागि तयारी गरेको छ। इस्लामाबाद दुई पक्षबीच प्रत्यक्ष वार्ताको सहजीकरण गर्न वा दुई प्रतिनिधिमण्डलका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरी उनीहरूबीच सन्देश आदानप्रदान गर्न दुवै अवस्थाका लागि तयार रहेको स्रोतले बतायो।

यसैबीच, अल जजिराले जनाएअनुसार अमेरिकी र इरानी प्रतिनिधिमण्डल इस्लामाबादको एउटै होटलमा बस्ने भए पनि उनीहरूबीच आमनेसामने वार्ता हुनेछैन। बरु, दुवै पक्ष छुट्टाछुट्टै कोठामा रहनेछन् र पाकिस्तानी अधिकारीहरूले उनीहरूबीच सन्देश आदानप्रदान गराउनेछन्।

यसै साताको सुरुमा पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक डारले सिनेटलाई सम्बोधन गर्दै भनेका थिए, “पाकिस्तानको भूमिका अमेरिका र इरानलाई इस्लामाबादमा ‘एकै ठाउँमा बसाएर’ उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नु हो। तर, पाकिस्तानले कुनै पनि पक्षलाई प्रभावित गर्ने प्रयास गर्नेछैन।”

विश्लेषकहरूका अनुसार वार्ताको यो असामान्य ढाँचाले दुई पक्षबीचको गहिरो अविश्वास र तिक्ततालाई प्रस्ट रूपमा दर्शाउँछ। हालै भएको दुई साताको युद्धविरामपछि दीर्घकालीन सम्झौताको लागि भइरहेको यो कूटनीतिक पहलमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button