अमेरिकी वार्ता टोली बोकेको विशेष विमान इस्लामाबादमा अवतरण, इरानसँग ऐतिहासिक वार्ताको तयारी

इस्लामाबाद । अमेरिका र इरानबीच हुने ऐतिहासिक वार्ताका लागि अमेरिकी वार्ता प्रतिनिधिमण्डल बोकेको एक विशेष विमान शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा अवतरण गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबादमा इरानी पक्षसँग वार्ता गर्न आइपुगेको हो। मध्यपूर्वमा जारी तनावलाई शान्तिपूर्ण निकास दिन र हालै घोषित दुई साताको युद्धविरामलाई दीर्घकालीन सम्झौतामा परिणत गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा यी वार्ताहरू हुन लागेका हुन्।
यसअघि पाकिस्तानी अधिकारीहरूले दुवै पक्षका लागि सबै आवश्यक तयारी पूरा गरिसकेको र वार्ताका लागि दुईवटा सम्भावित ढाँचा तयार राखिएको जानकारी दिएका थिए— आमनेसामने वार्ता वा छुट्टाछुट्टै कोठामा बसेर पाकिस्तानी अधिकारीमार्फत सन्देश आदानप्रदान।
अमेरिकी प्रतिनिधिमण्डलको आगमनसँगै इस्लामाबादमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। यसअघि नै जुम्ल्याहा सहर इस्लामाबाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको थियो भने ‘ब्लू बुक’ भीभीआईपी प्रोटोकलअन्तर्गत सुरक्षाकर्मी परिचालन गरिएको छ। इरानी प्रतिनिधिमण्डल पनि चाँडै इस्लामाबाद आइपुग्ने अपेक्षा गरिएको छ।





