एकै वर्षमा हिमालयको ४०८ अर्ब टन बरफ पग्लियो, समुद्रको सतह १.१ मिलिमिटर उठ्यो
अध्ययनको चिन्ताजनक निष्कर्ष "सात वर्षमै छ पटक कीर्तिमानी हिमनदी क्षति"

मेलबर्न । विश्वव्यापी हिमनदीहरूले सन् २०२५ मा मात्र करिब ४०८ अर्ब टन (४०८ गिगाटन) बरफ गुमाएको एक अन्तर्राष्ट्रिय अध्ययनले खुलासा गरेको छ। यो बरफको पग्लाइले विश्वव्यापी समुद्रको सतहलाई करिब १.१ मिलिमिटरले माथि उठाएको छ। विश्व हिमनदी अनुगमन सेवाले गरेको उक्त अध्ययनमा एक अस्ट्रेलियाली वैज्ञानिक पनि सहभागी थिए। अस्ट्रेलियाको मोनास विश्वविद्यालयद्वारा हालै जारी गरिएको विज्ञप्तिअनुसार सन् १९७५ मा अभिलेख सुरु भएयताका वर्षहरूमध्ये सन् २०२५ हिमनदी क्षतिको हिसाबले छैटौं सबैभन्दा खराब वर्ष साबित भएको छ।
अध्ययनका सहलेखक एवं मोनास विश्वविद्यालयका अनुसन्धान सहकर्मी लेभान तिलिड्जेले भने, “सबैभन्दा चरम क्षति भएका वर्षहरूमध्ये छ वटा पछिल्ला सात वर्षभित्रै देखा परेको तथ्यले यो प्रणाली कति तीव्र गतिमा परिवर्तन भइरहेको छ भन्ने कुरा औंल्याउँछ।” ‘नेचर रिभ्युज अर्थ एन्ड इन्भाइरन्मेन्ट’ जर्नलमा प्रकाशित यो अध्ययनले पछिल्लो दशकमा बरफ पग्लिने दर नाटकीय रूपमा तीव्र भएको र यो वार्षिक क्षति २० औं शताब्दीको अन्ततिर देखिएको क्षतिको तुलनामा झन्डै चार गुणा बढी रहेको देखाएको छ। तिलिड्जेले यी नतिजाहरूले हिमनदीको निरन्तरको ह्रासको मात्रा र त्यसको तत्काल सम्बोधनको आवश्यकतालाई रेखाङ्कित गरेको बताए।
अध्ययनले सन् १९७५ यता विश्वभरका हिमनदीहरूले झन्डै ९,६०० गिगाटन बरफ गुमाइसकेको देखाएको छ, जुन समुद्रको सतहलाई करिब २६ मिलिमिटरले माथि उठाउन पर्याप्त छ। यो कुल क्षतिको झन्डै ८० प्रतिशत हिस्सा सन् २००० पछि मात्र भएको छ। सन् २०२५ मा विश्वका सबै १९ प्रमुख हिमनदी क्षेत्रहरूले लगातार चौथो वर्ष पनि आफ्नो द्रव्यमान गुमाएको अध्ययनले जनाएको छ, जसमध्ये पश्चिमी उत्तर अमेरिका र मध्य युरोपमा सबैभन्दा ठूलो क्षति भएको छ।
तिलिड्जेले चेतावनी दिँदै भने, “हरेक डिग्रीको अंशले पनि अर्थ राख्छ। तापक्रम वृद्धिलाई कम गर्नाले भविष्यमा हुने हिमनदीको क्षति र त्यसको असरलाई प्रत्यक्ष रूपमा घटाउन मद्दत पुग्नेछ।”





