इस्लामाबाद वार्ता : ‘केही विषयमा सहमति, दुई–तीनमा गम्भीर मतभेद’
इरानी प्रवक्ता भन्छन् 'एकै बैठकबाट सम्झौताको अपेक्षा गरिएकै थिएन'

तेहरान । इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्तामा केही विषयमा सहमति जुटे पनि दुई वा तीनवटा महत्त्वपूर्ण मुद्दाहरूमा धारणा भिन्न रहेपछि अन्ततः कुनै सम्झौता हुन नसकेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आइतबार बताए।
इरानको मेहर समाचार एजेन्सीले उद्धृत गरेअनुसार बाघाईले भने, “सुरुदेखि नै हामीले एकै सत्रमा सम्झौता हुने अपेक्षा गर्नुहुँदैनथ्यो भन्ने कुरा स्वाभाविक हो। वास्तवमा कसैले पनि यस्तो अपेक्षा गरेको थिएन।” उनले तेहरान पाकिस्तान र क्षेत्रका अन्य मित्रहरूसँगको सम्पर्क निरन्तर जारी रहनेमा विश्वस्त रहेको बताए।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्तामा कुनै सम्झौता हुन नसकेको बताउँदै इस्लामाबादबाट प्रस्थान गरिसकेका थिए। पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले भने दुवै पक्षको सकारात्मक भावना जारी रहने र पाकिस्तानले आफ्नो मध्यस्थकर्ताको भूमिका निरन्तर निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।





