७ बैशाख २०८३, सोमबार

वार्ता विफल भएपछि ट्रम्पको आक्रामक घोषणा

हर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी, इरानी गार्डको जवाफ 'गलत चालले शत्रु घातक भुमरीमा फस्नेछ'

वासिङ्टन । पाकिस्तानको इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता बिना सम्झौता टुङ्गिएको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग प्रवेश गर्ने र बाहिरिने सबै जहाजहरूलाई अमेरिकी नौसेनाले रोक्ने (नाकाबन्दी) आक्रामक घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, “आजैदेखि लागू हुने गरी, विश्वकै उत्कृष्ट अमेरिकी नौसेनाले ‘स्ट्रेट अफ हर्मुज’ प्रवेश गर्न वा बाहिरिन खोज्ने सबै जहाजहरूलाई रोक्ने प्रक्रिया सुरु गर्नेछ।” उनले थपे, “मैले हाम्रो नौसेनालाई इरानलाई शुल्क तिरेका अन्तर्राष्ट्रिय जलक्षेत्रका हरेक जहाजहरूलाई खोजी गरी रोक्न पनि निर्देशन दिएको छु। गैरकानुनी शुल्क तिर्ने कोही पनि उच्च समुद्रमा सुरक्षित रूपमा आवतजावत गर्न सक्नेछैन।” ट्रम्पले जलडमरुमध्यमा इरानीहरूले बिछ्याएका माइनहरू पनि नष्ट गर्न सुरु गरिने बताए।

शान्ति वार्ताबारे ट्रम्पले बैठक “राम्रो” भएको र धेरैजसो बुँदामा सहमति भएको तर “वास्तवमा महत्त्वपूर्ण एक मात्र बुँदा, आणविक” मा सहमति नभएको बताए।

यसैबीच, ट्रम्पको नाकाबन्दी घोषणापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेना कमान्डले आइतबार चेतावनी दिँदै भनेको छ कि ‘स्ट्रेट अफ हर्मुज’ मा कुनै पनि “गलत चाल” ले उसका शत्रुहरूलाई “घातक भुमरी” मा फसाउनेछ। दुई शक्ति राष्ट्रबीचको यो तनावपूर्ण आदानप्रदानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्गमा थप द्वन्द्वको जोखिम बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button