सोमबारदेखि इरानी बन्दरगाह आवतजावत गर्ने सबै जहाजमाथि नाकाबन्दी लागू हुने

वासिङ्टन । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले सोमबार पूर्वी समयअनुसार बिहान १० बजेदेखि “इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री यातायात” माथि नाकाबन्दी लागू गर्न सुरु गर्ने जनाएको छ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरिएको विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुरूप यो नाकाबन्दी अरबी खाडी र ओमानको खाडीमा रहेका सम्पूर्ण इरानी बन्दरगाहहरूसहित इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा त्यहाँबाट प्रस्थान गर्ने सबै राष्ट्रका जहाजहरूविरुद्ध “निष्पक्ष रूपमा” लागू गरिनेछ। यद्यपि, विज्ञप्तिमा थप भनिएको छ कि अमेरिकी केन्द्रीय कमान्डका सेनाहरूले “गैर-इरानी बन्दरगाहहरूबाट ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने जहाजहरूको नौपरिवहन स्वतन्त्रतामा बाधा पुर्याउने छैनन्।”
यो विज्ञप्ति ट्रम्पले ‘ट्रुथ सोसल’ मा अमेरिकी नौसेनाले ‘स्ट्रेट अफ हर्मुज’ प्रवेश गर्ने वा बाहिरिन खोज्ने जहाजहरूलाई रोक्न सुरु गर्ने घोषणा गरेको केही घण्टापछि आएको हो। फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले संयुक्त राज्य अमेरिका र सहयोगी राष्ट्रहरूले समुद्री माइनहरू सफा गर्न र ढुवानी मार्गहरू सुरक्षित गर्न जलडमरुमध्यमा माइनस्वीपरहरू तैनाथ गर्ने बताएका थिए।
यसैबीच, ट्रम्पको नाकाबन्दी घोषणापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेना कमान्डले आइतबार चेतावनी दिँदै भनेको छ कि ‘स्ट्रेट अफ हर्मुज’ मा कुनै पनि “गलत चाल” ले उसका शत्रुहरूलाई “घातक भुमरी” मा फसाउनेछ। दुई शक्ति राष्ट्रबीचको यो तनावपूर्ण आदानप्रदानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्गमा थप द्वन्द्वको जोखिम बढाएको छ।





