७ बैशाख २०८३, सोमबार

शान्ति वार्तामा फरक–फरक अपेक्षा

वासिङ्टन । इजरायल र लेबनानबीच मङ्गलबार भएको शान्ति वार्तामा दुवै पक्षले फरक–फरक अपेक्षा राखेका छन्। अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार इजरायलले हिजबुल्लाहको निशस्त्रीकरणमा जोड दिएको छ भने लेबनानले युद्धविराम र जारी द्वन्द्वबाट उत्पन्न गम्भीर मानवीय सङ्कट कम गर्न ठोस उपायहरूको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि सबै पक्षहरू आपसी सहमतिको समय र स्थानमा प्रत्यक्ष वार्ता सुरु गर्न राजी भएका छन्। सन् १९९३ पछि इजरायल र लेबनान सरकारबीच भएको यो पहिलो प्रमुख उच्चस्तरीय संलग्नता हो। अमेरिकी प्रशासनले हिजबुल्लाहको निरन्तर आक्रमणबाट आफूलाई बचाउने इजरायलको ‘अधिकार’ लाई पुनः पुष्टि गरेको छ, जसले लेबनानमाथिको इजरायली हवाई आक्रमण र दक्षिणी भूभागमा स्थल आक्रमण जारी रहने सङ्केत गरेको छ।

ट्रम्प प्रशासनले निरन्तर वार्तालाई समर्थन गरे पनि कुनै पनि युद्धविराम सम्झौता अमेरिकी मध्यस्थतामा दुई सरकारबीच नै हुनुपर्ने र ‘कुनै छुट्टै माध्यम’ बाट नहुने विज्ञप्तिमा उल्लेख छ। यसले हालको अमेरिका–इरान युद्धविराम वा आगामी दुई दिनमा हुन सक्ने अमेरिका–इरान शान्ति वार्ताको हिस्साका रूपमा वासिङ्टनले लेबनानलाई नहेरेको सङ्केत गर्छ।

वार्तामा लेबनानी राजदूत नादा हमादेह, इजरायली राजदूत येचिएल लेइटर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, लेबनानका लागि अमेरिकी राजदूत मिसेल इसा, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्ज र अमेरिकी विदेश मन्त्रालयका सल्लाहकार माइकल निडह्याम सहभागी थिए। इजरायल र लेबनानबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन भने इजरायलले हिजबुल्लाहलाई इरानको ‘प्रोक्सी’ का रूपमा हेर्दै आएको छ। इजरायलसँगको वार्ताकार पक्ष हिजबुल्लाह नभई लेबनानी सरकार हो।

उद्घाटन मन्तव्यका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भने, “यस विषयका सबै जटिलता आगामी ६ घण्टामा समाधान हुने छैनन्। यो कुनै घटना नभई एउटा प्रक्रिया हो।”

हिजबुल्लाह सन् २०२४ को युद्धविरामपछि पहिलोपटक गत मार्च २ मा दक्षिणी लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गर्दै अमेरिका–इजरायल र इरानबीचको युद्धमा प्रवेश गरेको थियो। इजरायलले देशभरका विभिन्न क्षेत्रलाई लक्षित गरी सैन्य अभियान तीव्र बनाउँदै स्थल आक्रमणको जवाफ दिएको थियो, जसमा २ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको दैनिक विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्र इजरायली आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button