अमेरिकी आक्रमणसँगै इरानमा सञ्चार उपकरण ठप्प

काठमाडौं । इरानको केन्द्रीय इस्फाहान प्रान्तमा भएको अमेरिकी आक्रमणका क्रममा देशभित्र रहेका अमेरिकी निर्मित सञ्चार उपकरणहरू एकाएक काम गर्न बन्द भएको फार्स समाचार संस्थाले मङ्गलबार जनाएको छ।
प्रतिवेदनले कुन आक्रमणको सन्दर्भमा यो घटना भएको हो भन्ने स्पष्ट उल्लेख नगरे पनि यससँगै प्रकाशित तस्बिरमा यसै महिनाको सुरुमा एक खसालिएको लडाकु विमानका पाइलटको उद्धारका लागि भनिएको अमेरिकी सैन्य कारबाहीका क्रममा ध्वस्त पारिएको अमेरिकी विमानको भग्नावशेष देखाइएको छ। स्थलगत अवलोकनलाई उद्धृत गर्दै प्रतिवेदनले उक्त उपकरणहरूमा सिस्को, जुनिपर नेटवर्क्स र फोर्टिनेटद्वारा निर्मित उत्पादनहरू समावेश रहेको जनाएको छ। ती उपकरणहरू आक्रमण भएकै समयमा विफल भएका थिए।
प्रतिवेदनले यो समयलाई ‘शङ्कास्पद’ भन्दै इरानको त्यतिबेला अन्तर्राष्ट्रिय इन्टरनेट पहुँच नभएको र विश्वव्यापी गेटवेहरू अवरुद्ध वा पहुँचबाहिर रहेको उल्लेख गरेको छ। फार्सले यी एकैसाथ भएका विफलताहरूले उपकरणभित्रै ‘गहिरो तहमा गरिएको तोडफोड’ को सङ्केत गरेको दाबी गरेको छ। प्रतिवेदनले साइबर सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इरानको साइबर प्रयोगशालाहरूले चाँडै नै उत्पादक कम्पनीहरू र अमेरिकी तथा इजरायली ‘शत्रु’ हरूबीचको ‘समन्वय’ को प्राविधिक विवरण र प्रमाण सार्वजनिक गर्ने जनाएको छ। प्रतिवेदनमा भनिएको छ, “यस आक्रमणले देशको साइबर सुरक्षाको मेरुदण्ड विदेशी उपकरणमा निर्भर हुन नसक्ने देखाएको छ।”
गत फेब्रुअरी २८ देखि सुरु भएको ४० दिने अमेरिकी–इजरायली आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डरहरू र ३ हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो। इरानले त्यसको जवाफमा इजरायल र मध्यपूर्वस्थित अमेरिकी सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला नै सञ्चालन गरेको थियो।
अप्रिल ८ देखि इरान र अमेरिकाबीच दुई साताको युद्धविराम लागू भएको थियो। त्यसपछि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच लामो वार्ता भए पनि कुनै सहमति जुट्न सकेको थिएन।





