इरान द्वन्द्वपछि इन्धन मूल्य दोब्बर : एयर क्यानडाद्वारा अमेरिकी गन्तव्यका थुप्रै उडान स्थगन, जुन १ देखि लागू हुने

टोरन्टो, क्यानडा — वैशाख ५। क्यानडाको सबैभन्दा ठूलो वायुसेवा कम्पनी एयर क्यानडाले जेट इन्धनको मूल्यमा भएको चरम वृद्धिका कारण संयुक्त राज्य अमेरिकाका विभिन्न गन्तव्यहरूमा सञ्चालन हुँदै आएको उडान सेवा स्थगन गर्ने घोषणा गरेको छ। कम्पनीले शुक्रबार जारी गरेको एक विज्ञप्ति अनुसार इरान द्वन्द्व सुरु भएयता जेट इन्धनको मूल्य झन्डै दोब्बर भएको छ, जसले गर्दा केही मार्ग र उडानहरू आर्थिक रूपमा व्यावहारिक नरहेको ठहर गरिएको हो।
उडान स्थगनको यो निर्णयले सीमापार (अमेरिका) तथा आन्तरिक दुवै प्रकारका सेवाहरूलाई प्रभावित गरेको छ। कम्पनीले आगामी जुन १ देखि अक्टोबर २५ सम्मका लागि मन्ट्रियल र टोरन्टोबाट न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलका लागि हुँदै आएको उडान सेवा स्थगन गर्ने भएको छ।
यसैगरी, एयर क्यानडाले आगामी जुन ३० तारिखदेखि टोरन्टो-साल्ट लेक सिटी मार्गको उडान सेवा पनि स्थगन गर्नेछ। यस मार्गको उडान सन् २०२७ मा मात्र पुनः सञ्चालन हुने सम्भावित तालिका रहेको कम्पनीले जनाएको छ।
एयर क्यानडाले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार यी उडान स्थगनहरूले कम्पनीको कूल नियोजित वार्षिक क्षमता (एभिएबल सिट माइल) को करिब १ प्रतिशत भागमा मात्र प्रभाव पार्ने अनुमान गरिएको छ।





