९ बैशाख २०८३, बुधबार

इजरायल-लेबनान युद्धविरामपछि विस्थापितहरूको घर फिर्तीको लहर, अस्फोटित बारुदको जोखिम कायमै

इजरायल र लेबनानबीच भएको १० दिने युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौं मानिसहरू अस्फोटित (विष्फोट नभएको) बारुद तथा विष्फोटक पदार्थको चेतावनीका बाबजुद घर फर्कन थालेको संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जारी गरेको विज्ञप्ति अनुसार उसका साझेदार संस्थाहरूले विस्थापित परिवारहरू बेरुतको दक्षिणी उपनगर र दक्षिणी लेबनानका नबातिह र टायरलगायतका क्षेत्रहरूमा फर्कन थालेको जानकारी गराएका छन्।

तर, ओसीएचएले दक्षिणी क्षेत्र र नबातिह गभर्नरेटका धेरै आवासीय क्षेत्रहरूमा अस्फोटित बारुदहरू रहेकाले जनताको सुरक्षामा जोखिम कायमै रहेको चेतावनी दिएको छ।

ओसीएचएले भनेको छ, “साझेदार संस्थाहरू र स्थानीय अधिकारीहरूका अनुसार बिहानैदेखि हजारौं मानिसहरू दक्षिणतर्फ यात्रा गरिरहेको देखियो। पुल र पूर्वाधारमा व्यापक क्षति पुगेको भए पनि मुख्य सडकहरू जाम भएका छन्, विशेष गरी दक्षिणी लेबनानको कास्मियेह र जेफ्ता गाउँ नजिक।”

कार्यालयका अनुसार फर्कनेहरूको यात्रालाई सहज बनाउन दक्षिण गभर्नरेटका नदी क्रसिङहरू र कास्मियेहको तटीय मार्गमा अस्थायी मर्मतसम्भार गरिएको थियो।

ओसीएचएले स्थानीय समयअनुसार शुक्रबार साँझसम्म सामूहिक आश्रयस्थलहरूमा रहेका विस्थापितहरूको सङ्ख्या १ लाख १३ हजारमा झरेको जनाएको छ, जुन बिहीबार दर्ता भएको १ लाख ४१ हजारको तुलनामा उल्लेखनीय कमी हो। “साझेदार संस्थाहरूले स्थानीय अधिकारीहरूसँग घनिष्ठ समन्वयमा मानवीय सहायता प्रयासहरूलाई निरन्तरता दिइरहेका छन्,” कार्यालयले भन्यो।

इजरायल र लेबनानबीचको १० दिने युद्धविराम बिहीबार र शुक्रबारको मध्यरातमा स्थानीय समयअनुसार लागू भएको थियो।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको घोषणाको स्वागत गरेको उनका प्रमुख प्रवक्ता स्टेफन दुजारिकले बिहीबार बताएका थिए। दुजारिकले भने, “उहाँले शत्रुता अन्त्य गर्न र ब्लू लाइनको दुवै पक्षका समुदायहरूको पीडा कम गर्नका लागि भइरहेका सबै प्रयासहरूमा संयुक्त राष्ट्र सङ्घको समर्थन पुनः पुष्टि गर्नुभएको छ। महासचिवले यो युद्धविरामले द्वन्द्वको दीर्घकालीन समाधानतर्फ वार्ताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गर्नुभएको छ।”

उत्तरी इजरायल र दक्षिणी लेबनानबीचको ब्लू लाइनमा गस्ती गरिरहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनले युद्धविराम सुरु भएयता आफ्नो कार्यक्षेत्रमा इजरायलतर्फ कुनै प्रक्षेपण वा इजरायली हवाई आक्रमण नदेखिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button