९ बैशाख २०८३, बुधबार

राजा महेन्द्रको गैंडासहितको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिप्पणी, जानकारहरूद्वारा तथ्यगत स्पष्टीकरण

काठमाडौं — पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा राजा महेन्द्र र रानी रत्नको एउटा पुरानो तस्बिर व्यापक रूपमा सेयर भइरहेको छ। उक्त तस्बिरमा राजा महेन्द्र एक गैंडाको शिकार गरी त्यसैमाथि बसेको देखिन्छ। यही तस्बिरलाई आधार बनाउँदै केही प्रयोगकर्ताले राजा महेन्द्रले ‘प्रकृति संरक्षण कोष’ स्थापना गरेर नाटक मात्र देखाएको तथा सोही कोषको जिम्मेवारी पुत्र ज्ञानेन्द्रलाई सुम्पिएको भन्दै तीव्र आलोचना गरिरहेका छन्।

तर जानकारहरूले भने यस्ता टिप्पणीहरू तथ्यगत रूपमा भ्रामक र अध्ययनको अभावमा गरिएको प्रतिक्रिया मात्र भएको बताएका छन्। उनीहरूका अनुसार तस्बिरमा देखिएको गैंडा नेपालमा पाइने एकसिङ्गे गैंडा नभई अफ्रिकी दुईसिङ्गे गैंडा हो। नेपालमा पाइने गैंडाको एउटा मात्र सिङ हुन्छ भने अफ्रिकी जङ्गलमा पाइने गैंडाका दुईवटा सिङ हुने गर्छन्। यो तथ्य प्रष्ट देखिने भएकाले सो तस्बिर नेपालमा खिचिएको नभई राजा महेन्द्रको कुनै विदेश भ्रमण वा सिकार यात्राका क्रमको हुन सक्ने अथवा एआईबाट बनाइएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

यसैगरी, शिकार खेल्ने परम्परा र कानुनी व्यवस्थाबारे पनि जानकारहरूले स्पष्ट पारेका छन्। नेपाल सरकारले अहिले पनि शिकार आरक्षणका लागि निश्चित क्षेत्र तोकेको छ र त्यहाँ विभिन्न वन्यजन्तुको शिकारका लागि निश्चित कोटा नै निर्धारण गरिएको हुन्छ। यो नियम यस वर्ष पनि लागू भइसकेको छ। विश्वका धेरै मुलुकमा शिकार खेल्ने र खेलाउने परम्परा शताब्दीयौंदेखि चलिआएको र यो सैन्य गतिविधिको समेत एक हिस्सा मानिन्छ।

त्यसैले कुनै पनि पुरानो तस्बिरलाई आधार मानेर त्यसको पृष्ठभूमि र तथ्य नबुझी गरिने टिप्पणीले समाजमा अनावश्यक भ्रम मात्र फैलाउने सरोकारवालाहरूको भनाइ छ। तस्बिरमा देखिएको गैंडाको सिङ्गको सङ्ख्या नै यसको सबैभन्दा ठोस प्रमाण भएको उनीहरूले औंल्याएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button