छैटौं चीन अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु प्रदर्शनी सम्पन्न, ६० भन्दा बढी देशका साढे तीन हजार ब्रान्ड सहभागी

हाइनान (चीन) — चीनको विशाल उपभोक्ता बजारमा प्रवेशको प्रमुख प्रवेशद्वार तथा विश्वलाई गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने मञ्चका रूपमा रहेको छैटौं चीन अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु प्रदर्शनी (सीआईसीपीई) शनिबार हाइनान प्रान्तमा सम्पन्न भएको छ।
गत डिसेम्बरमा हाइनान स्वतन्त्र व्यापार क्षेत्र (एफटीपी) ले टापुव्यापी विशेष भन्सार सञ्चालन पूर्ण रूपमा कार्यान्वयनमा ल्याएपछि आयोजना भएको यो पहिलो ठूलो प्रदर्शनी हो। चीनको थप खुलापनको नीतिअन्तर्गत यस वर्षको प्रदर्शनीले नवप्रवर्तनमार्फत नयाँ उपभोग प्रवृत्तिको नेतृत्व गरेको आयोजकले जनाएको छ।
आयोजकले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष कुल प्रदर्शनी क्षेत्रफल एक लाख ४३ हजार वर्गमिटर पुगेको छ, जुन गत वर्षको तुलनामा १३ हजार वर्गमिटरले बढी हो। प्रदर्शनीमा ६० भन्दा बढी देश तथा क्षेत्रका साढे तीन हजारभन्दा बढी ब्रान्ड सहभागी भएका थिए। कुल प्रदर्शकमध्ये अन्तर्राष्ट्रिय प्रदर्शकको हिस्सा ६५ प्रतिशत रहेको छ, जुन गत वर्षको तुलनामा २० प्रतिशत अङ्कले वृद्धि भएको हो।
हाइनान प्रान्तमा आयोजित यो प्रदर्शनी चीनले स्वदेशी तथा विदेशी उपभोक्ता वस्तुको आदानप्रदानलाई प्रवर्द्धन गर्न र विश्वव्यापी व्यापार साझेदारीलाई थप सुदृढ बनाउन गरिरहेको प्रयासको एक महत्त्वपूर्ण कडीका रूपमा रहेको छ।





