रुसमा पहिलोपटक ‘सोभियत नरसंहार स्मृति दिवस’ मनाइयो

मस्को — सन १९४१–१९४५ को महान देशभक्तिपूर्ण युद्धका क्रममा नाजी तथा तिनका सहयोगीहरूद्वारा सोभियत जनतामाथि गरिएको नरसंहारका पीडितहरूको स्मृतिमा रुसमा आइतबार पहिलोपटक औपचारिक रूपमा ‘नरसंहार पीडित स्मृति दिवस’ मनाइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२५ डिसेम्बर २९ मा हस्ताक्षर गरेको संघीय कानुन नं. ५२३-एफजेड बमोजिम यो दिवस स्थापना गरिएको हो।
यस दिवसका लागि अप्रिल १९ को मिति छनोट ऐतिहासिक दृष्टिले अर्थपूर्ण रहेको बताइएको छ। सन १९४३ को सोही दिन सोभियत सर्वोच्च सोभियतको प्रेसिडियमले ‘जर्मन–फासिस्ट अत्याचारीहरूलाई सजाय दिने उपाय’ सम्बन्धी ऐतिहासिक आदेश नं. ३९ जारी गरेको थियो। उक्त दस्तावेजले कब्जा गरिएका क्षेत्रहरूमा नागरिकहरूको योजनाबद्ध विनाशलाई पहिलोपटक कानुनी मान्यता दिँदै नुरेम्बर्ग सैन्य अदालतलगायत युद्ध अपराधीहरूमाथिको मुद्दाको कानुनी आधारशिला तयार पारेको थियो ।
व्यवस्थित नरसंहारको योजना र क्षति
उपलब्ध विवरणहरूका अनुसार, तत्कालीन नाजी जर्मनीको नेतृत्वले सोभियत सङ्घको युराल क्षेत्रसम्मको भूभागलाई जर्मनहरूका लागि ‘जीवनक्षेत्र’ (लेबेन्सराउम) को रूपमा हेरेको थियो। यसअन्तर्गत स्लाभ, यहुदी, जिप्सी तथा एसियाली मूलका मानिसहरूलाई ‘अवमानव’ को सङ्ज्ञा दिँदै उक्त भूभागबाट हटाउने योजना बनाइएको थियो। युद्ध सुरु हुनुअगावै नाजीहरूले सोभियत जनसङ्ख्यालाई आमूल रूपमा घटाउन विभिन्न विनाशकारी कार्यनीतिहरू तयार पारेका थिए, जसमा सुनियोजित भोकमरीको रणनीति पनि समावेश थियो। सन १९४१–४२ को हिउँदमै ३ करोड सोभियत नागरिकलाई भोकमरीबाट मार्ने योजना यद्यपि पूर्ण रूपमा सफल हुन नसके पनि यसले ठूलो जनधनको क्षति गर्यो। कब्जा क्षेत्रमा परेका ३० लाखभन्दा बढी सोभियत युद्धबन्दी, घेराबन्दीमा परेको लेनिनग्राद (हालको सेन्ट पिटर्सबर्ग) का करिब १० लाख बासिन्दा तथा थुप्रै सर्वसाधारण भोकमरीको मारमा परेका थिए।
नाजीहरूको नरसंहार नीतिअन्तर्गत यहुदी तथा जिप्सी समुदायलाई पूर्णतया समाप्त पार्ने लक्ष्य राखिएको थियो भने युद्धबन्दी बनाएर लगिएका सोभियत युवतीहरूलाई जबरजस्ती गर्भपतन गराइन्थ्यो। यसैगरी, कब्जा गरिएका क्षेत्रबाट ‘आर्य मूल’को लक्षण भएका हजारौं बालबालिकालाई अपहरण गरी जर्मनीकरण गर्ने कार्यलाई पनि परम्परागत नरसंहारकै एक रूपका रूपमा लिइन्छ। तथ्याङ्कहरूका अनुसार नाजी अतिक्रमणका क्रममा करिब १ करोड ३७ लाख सर्वसाधारणको ज्यान गएको थियो भने सुनियोजित भोकमरी नीतिका कारण थप ५० लाखभन्दा बढीले ज्यान गुमाएका थिए।
‘अन्तर्राष्ट्रिय मान्यता’ र कानुनी कारबाहीको पहल
रुसी कूटनीतिज्ञहरूले नाजी तथा तिनका सहयोगीहरूले सोभियत नागरिकमाथि गरेको अपराधलाई अन्तर्राष्ट्रिय समुदायबाट ‘सोभियत जनतामाथिको नरसंहार’ का रूपमा मान्यता दिलाउन पहल जारी राख्ने बताएका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस अवसरमा जारी गरेको भिडियो सन्देशमा भनेका छन्, “लाखौं सोभियत जनताको नरसंहारको स्मृतिलाई जोगाइराख्नु हाम्रो पवित्र कर्तव्य हो। जसरी पनि यी अत्याचारलाई विस्मरण गराउन हामी दिने छैनौं, चाहे आज पुनः युरोपलाई जातीय उच्चताको पुरानै बाटोमा डोर्याउन खोज्नेहरूले जति नै प्रयास किन नगरून्।”
हाल यो विषय स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) र सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) अन्तर्गत पारित केही दस्तावेजहरूमा सम्बोधन गरिएको छ। यसैगरी, रुसले नाजीवादको पुनरुत्थान र नरसंहारको तथ्यलाई अस्वीकार गर्ने वा खण्डन गर्ने कार्यलाई अपराधको श्रेणीमा राखेको छ ।
रुसी सङ्घीय परिषद्की अध्यक्ष भालेन्टिना मात्भियेन्कोले यो दिवसको स्थापनालाई राज्यस्तरबाट ऐतिहासिक सत्यको रक्षा गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताइन्। उनले भनिन्, “यो संघीय कानुनले हाम्रो नागरिक र मानवीय दायित्वलाई औपचारिकता प्रदान गरेको छ। हामीले सम्झनैपर्छ, ताकि यस्तो पुनः नदोहोरियोस्।”





