एमर्सफोर्टको कालो इतिहास: उपनिवेशवाद र दास व्यापारको क्रूर अध्याय पुनःस्मरण

काठमाडौं / सन् १६५८ मार्च २८ का दिन अफ्रिकाको इतिहासमा एउटा पीडादायी अध्यायका रूपमा अंकित छ। डच ईस्ट इन्डिया कम्पनीद्वारा सञ्चालित व्यापारी जहाज एमर्सफोर्ट ले दक्षिण अफ्रिकास्थित डच उपनिवेशमा पहिलोपटक ठूलो संख्यामा दास बनाइएका मानिसहरू पुर्याएको थियो।
डच–पोर्चुगिज युद्ध (१६०२–१६६३) का क्रममा उक्त जहाजले ब्राजिलतर्फ जाँदै गरेको पोर्चुगिज दास जहाजमाथि आक्रमण गरी त्यसमा रहेका करिब २५० जना अंगोलाका नागरिकलाई कब्जामा लिएको थियो। तीमध्ये झण्डै एक तिहाइ बालबालिका तथा जबर्जस्ती श्रमका लागि अनुपयुक्त ठहरिएपछि निर्दयी रूपमा फालिएको थियो भने अन्ततः १७४ जनालाई मात्र उपनिवेशमा पुर्याइएको थियो।
एमर्सफोर्टको आगमनसँगै केप प्रायद्वीपमा दास प्रथाको विस्तार भएको थियो, जसले अफ्रिकी महादेशमा युरोपेली उपनिवेशवादी शक्तिहरूद्वारा गरिएको अत्याचारको अर्को दर्दनाक पाटो उजागर गर्दछ।
इतिहासअनुसार, अफ्रिकामा संगठित दास व्यापारको सुरुवात १५औँ शताब्दीमा पोर्चुगिजहरूले गरेका थिए। पश्चिमी तटमा निर्माण गरिएका किल्लाहरू पछि दास व्यापारका प्रमुख केन्द्रका रूपमा विकसित भए। समयसँगै स्पेन, बेलायत, फ्रान्स र नेदरल्यान्ड्स जस्ता शक्तिहरू दास व्यापारका मुख्य वाहक बने।
१७औँ शताब्दीको मध्यतिर युरोपमा मसला र दुर्लभ वस्तुको व्यापारमा एकाधिकार जमाएको डच ईस्ट इन्डिया कम्पनीले एशिया र अफ्रिकामा दास व्यापार विस्तार गर्दै तथाकथित “डच स्वर्ण युग”लाई आर्थिक आधार प्रदान गरेको थियो।
दक्षिण अफ्रिकामा सन् १६५२ मा उपस्थिति स्थापना गरेपछि स्थानीय जनतालाई जबर्जस्ती श्रममा लगाउन असफल भएपछि डच उपनिवेशवादीहरूले दक्षिण–पूर्व एशिया र हिन्द महासागरका टापुहरूबाट दासहरू ल्याउन थाले। पछि यो अभ्यास अफ्रिकाभित्रै मोजाम्बिक, जान्जिबार र डाहोमे (हालको बेनिन र टोगो) सम्म फैलिएको थियो।
उपनिवेशमा दासप्रथामाथि आधारित संरचनाले दास बनाइएका मानिसहरूलाई आधारभूत अधिकारबाट पूर्ण रूपमा वञ्चित गर्यो। उनीहरूका सन्तान जन्मदेखि नै दास बनाइन्थे, परिवारहरू जबर्जस्ती छुट्याइन्थे र शारीरिक हिंसा सामान्य व्यवहारजस्तै बनाइएको थियो।
यद्यपि भय र क्रूरतामा आधारित यस्तो व्यवस्थाविरुद्ध दास बनाइएका मानिसहरूले पटक–पटक विद्रोह र प्रतिरोध गरेका थिए, जसले मानव स्वतन्त्रताको आकांक्षा कहिल्यै मर्न नसक्ने सन्देश दिएको छ।
यस ऐतिहासिक घटनाले उपनिवेशवाद र दास व्यापारका अपराधहरूलाई सम्झाउँदै न्याय, मानवअधिकार र इतिहासप्रतिको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाइरहेको छ।





