चैतावरको विरह : हरियाली भ्रम हो, फल अझै टाढा

काठमाडौ – नेपालको राजनीतिमा पटक–पटक ‘नयाँ सुरुआत’ को दाबा गरिन्छ। हरेक नयाँ सरकारले आफूलाई पछिल्लोभन्दा उत्तम रहने दाबी गर्छ। तर समयको पाङ्ग्रोले प्रस्ट पार्दै जान्छ– परिवर्तनको यो प्रक्रिया सतही छ। आकांक्षाका मुजुरा पलाउँछन्, तर त्यो फल त के चिचिला बन्न पनि भ्याउँदैन। एक सपना फेरि विसर्जित हुन पुग्छ।
वर्तमान संघीय सरकारको नीति र घोषणाहरूले भुइँमान्छेका वास्तविक आवश्यकता र अनुभवलाई समेट्न नसकेको गहिरो विश्लेषण भइरहेको छ। यो सन्दर्भमा चैतावर लोकगीतको रूपकमार्फत नेपालको राजनीतिक सतही परिवर्तन र भित्री असन्तुष्टिलाई उजागर गरिएको छ।
चैतावर शब्दको अर्थ हो– चैत्रसँग सम्बन्धित। यो ऋतुविशेष (वसन्तबाट ग्रीष्मतर्फ संक्रमण) को गीत हो। जब जाडो सकिन्छ, रूखमा नयाँ पालुवा पलाउँछ, आँपमा मुजुरा लाग्न थाल्छ र प्रकृति नयाँ ऊर्जाले भरिन्छ। तर चैतावरमा प्रकृतिको नवोन्मेष र मनका विरह सँगसँगै हिँड्छन्। यो बिम्बले एउटा यस्तो स्थिति देखाउँछ, जहाँ बाहिर हरियाली छ तर भित्र बेचैनी, बाहिर परिवर्तनको स्वर छ तर भित्रभित्रै कम्पन।
चैतावरमा आँपको रूखमा मन्जरी (मुजुरा) आइसकेको हुन्छ, जो भविष्यका फलको संकेत हो। नेपालको राजनीतिमा पनि पटक–पटक नयाँ आकांक्षा (नयाँ सरकार, नयाँ चेहरा, नयाँ नारा) निर्माण हुन्छ। तर त्यो लटरम्म फलेको फलमा विकसित हुँदैन। यतिखेर राजनीति फेरि फुलेको छ, तर फल अझै टाढा छ।
चैतावरमा कोइलीको आवाज मधुर हुन्छ, तर त्यो केवल ध्वनि हो, कुनै ठोस परिवर्तन होइन। हिजोसम्मको राजनीतिले स्मरण गराउँछ– नेताहरूका भाषण, घोषणा र नारामा मिठास यसैगरी छचल्किन्थ्यो। जनता हरेक पटक सुन्थे, भावुक हुन्थे र अन्ततः निराश हुँदै आए। चैतावरमा ‘विरह’ को भाव छ। प्रिय टाढा छन्, मिलनको आकांक्षा छ। जनता आफ्नै राज्यसँग विरहमा छन्। लोकतन्त्र थियो तर आफ्नोपन थिएन, प्रतिनिधि थिए तर प्रतिनिधित्वको भाव कमजोर रह्यो।
चैतावर एक संक्रमणको समय हो। न पूरै वसन्त, न त पूरै गर्मी। नेपालको राजनीति पनि लामो समयदेखि संक्रमणकालमै छ। संविधान आएपश्चात् पनि स्थिरताको अभाव, संस्थाहरू अधुरो रूपमा परिपक्व, र मर्जीवालाहरूको शासन। मुलुक अहर्निश चैतावरमा फसिरह्यो। यहीं निर त्यो शाश्वत जिज्ञासा छ– के यो मन्जरी फलमा बदलिने छ? कि यो केवल मौसमी भ्रम हो?
प्रतिनिधिसभामा एउटै दलको महाप्रबल स्थिति बन्यो। एक साता मात्रैको बालेन्द्र शाह नेतृत्वको सरकारको हाउभाउले यिनले बहुदलीय व्यवस्थामा ‘निर्दलीय’ अभ्यास गरिरहेको आभास दिन्छ। उनी दलीय प्रणालीसँग तालमेल मिलाउन गम्भीर छैनन्। उनले कामको राजनीति, विचारधाराको साटो परिणामलाई प्राथमिकता दिएका छन्। तर निर्दलीय चरित्र बोकेका नेता प्रायः ‘डोपामिन राजनीति’ गर्छन्– जसले तुरुन्त आकर्षण र द्रुत सन्तुष्टि दिन्छ, तर दीर्घकालीन संस्थागत सुधारमा कमजोर हुन्छ।
सिंहदरबारमा बसेर गरिने निर्णय प्रायः एक ‘विशेष वर्गका नागरिक’ को कल्पनामा आधारित हुन्छ। जो शिक्षित छन्, सरकारी सूचनामा सहज पहुँच र डिजिटल माध्यमको उपयोग गर्न सक्छन्। तर नेपालको असली नागरिक जो दूरदराजका गाउँमा बस्छन्, उनका दुनियाँ फरक छन्। एक मजदुरले सोच्दैन कि डिजिटल सेवा कत्तिको द्रुत भयो, उसले सोच्छ– आज मजदुरी पाइन्छ कि पाइँदैन? छेउको स्वास्थ्य चौकीमा औषधि पाइन्छ कि पाइँदैन? जबसम्म भुइँतहका अवस्थालाई नजरअन्दाज गरिन्छ, त्यो केवल एक ‘कल्पित देश’ मा निर्णय गरिएको मानिन्छ।
आजको सबैभन्दा ठूलो आवश्यकता छ– लोकतन्त्रलाई केवल ‘प्रबन्ध’ को रूपमा नदेखी एक जीवन्त अनुभवका रूपमा बुझ्ने। नीतिगत दस्तावेज ‘औसत नागरिक’ को अवधारणामा आधारित हुन्छन्, जबकि वास्तविक समाज बहुस्तरीय असमानता, सांस्कृतिक विविधता र भौगोलिक विषमताले निर्मित हुन्छ। सरकारले जीवित यथार्थ (लाइभ्ड रियलिटी) सँग परिचित हुने सार्थक माध्यमहरूको छनोट गर्नैपर्छ।
जबसम्म आजको सत्ताले ज्ञान निर्माण र अनुभवबीचको ‘एपिस्टेमिक दूरी’ घटाउँदै लैजाने काम गर्दैन, तबसम्म विगतको जस्तै सरकारको ढाँचा रहन्छ, तर त्यसले आफ्नोप्रतिको भरोसा गुमाउँदै जान्छ। अन्ततः, सरकारले चैतावरको कुक सुन्न सकोस्, त्यो विरह बुझोस्, जुन जनता र राज्यबीच बढ्दो छ। यदि त्यसलाई मेट्ने इमानदार प्रयास भयो भने चैतावर साँच्चिकै एक नयाँ ऋतुको प्रारम्भ बन्न सक्छ। नत्र फेरि एक अर्को अधुरो आशाको गीत मात्रै हुनेछ।
चैतावरकै एक पंक्ति सम्झौं, ‘रामा चइत की निंदिया बडी बइरिनियां।’ आशय हो– चैत महिनाको यो निद्रा नै ठूलो शत्रु हो। यस्तो बेला नागरिक समाज सुत्न मिल्दैन। सतर्कता, निगरानी र सचेत हस्तक्षेप नै लोकतन्त्र बचाउने आधार हुन्। नत्र, हरियालीको भ्रमभित्रै विरहको राजनीति अनन्तसम्म दोहोरिरहन्छ।





