११ बैशाख २०८३, शुक्रबार

जेलको अँध्यारोदेखि राष्ट्रियताको उज्यालोसम्म : एउटा मुटुले थेगेको देश बनाउने अठोटको कथा

– अमिशा पराजुली

गरिबीको भुइँबाट उठेको एउटा केटो, जसलाई बाल्यकालमै राजनीतिको आगोले पोल्यो। विद्यार्थी आन्दोलनमा होमियो, जेलको अँध्यारो कोठामा कोचियो, तर उसको सपना कहिल्यै मरेन। मुटुको गम्भीर रोगले शरीर थलियो, एउटा मिर्गौला गुमायो, तर देशप्रतिको माया कहिल्यै कमजोर भएन। यही संघर्षको आगोबाट निस्किएको मान्छे जब सत्तामा पुग्यो, नेपालले पहिलोपटक महसुस गर्यो— विकास केवल भाषण होइन, व्यवहारमा देखिने यथार्थ हुनुपर्छ।

उनको कार्यकालमा राष्ट्रियता कहिल्यै झुकेन। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै हो भन्ने दाबी दृढतापूर्वक उठाइयो, जसले दशकौंदेखि थाती रहेको सीमा विवादलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। नाकाबन्दीको कठिन समयमा पनि देशले घुँडा टेकेन, बरु आत्मनिर्भर बन्ने आत्मविश्वास जगाइयो। विदेश नीतिमा पनि नयाँ विकल्प खोल्दै चीनसँग बीआरआई सम्झौता र पारवहन सन्धि गरेर एकै नाकामा निर्भर रहने बाध्यता तोड्ने ऐतिहासिक प्रयास गरियो। यो केवल कूटनीतिक सफलता मात्र थिएन, भूराजनीतिक रूपमा नेपालले आफ्नो अस्तित्वको स्वतन्त्र अभ्यास गरेको क्षण थियो।

पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारियो। छोटो समयमै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बने, जसले पर्यटन र व्यापारको नयाँ ढोका खोले। रेलको सपना कागजबाट निस्किएर जमिनमा उत्रिन थाल्यो। नागढुङ्गाजस्ता सुरुङ मार्ग सुरु भए, जसले पहाडी यात्राको पीडालाई कम गर्ने आशा देखायो। देशैभर सडकको स्तरोन्नति गरियो। मेलम्ची खानेपानीले काठमाडौंको दशकौं पुरानो तिर्खा मेटायो। फ्लाइओभरहरूले सहरको गति बदले। मदन भण्डारी राजमार्गले पहाड जोड्ने महत्त्वाकांक्षी प्रयास गर्यो। नारायणगढ–बुटवल–भैरहवा सडकले व्यापार र यातायातलाई नयाँ गति दियो। पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कामले यात्राको अवधि र जोखिम दुवै घटायो।

ऊर्जाको क्षेत्रमा पनि ऐतिहासिक परिवर्तन देखियो। कुनै बेला दिनको १८ घन्टा लोडसेडिङ झेल्न बाध्य नेपालीले अब अँध्यारोमा बस्नुपरेन। लोडसेडिङ अन्त्य हुँदै नेपाल बिजुली आयात गर्ने देशबाट निर्यात गर्ने देशमा रूपान्तरणतर्फ अघि बढ्यो। यो केवल प्राविधिक उपलब्धि मात्र थिएन, राष्ट्रिय मनोबलको पुनर्जागरण थियो। आर्थिक रूपमा पनि प्रतिव्यक्ति आय करिब १६०० डलर पुग्ने स्तरसम्म उकास्ने प्रयास गरियो, जसले विकासको स्पष्ट सङ्केत देखायो।

तर, नेपालमा काम गर्नेको बाटो सधैं सजिलो हुँदैन। यहाँ काम गर्नेभन्दा काम रोक्नेहरू बलिया देखिन्छन्। गठबन्धनहरू जोगिनका लागि बन्छन्, इतिहास मेटिन्छ कुर्सी बचाउन, र काम गर्नेहरूलाई बदनाम गर्न मिडियाको दुरुपयोग गरिन्छ। विकासका यी सबै कामहरू जति देखिन्छन्, त्यति नै शक्तिशाली ती शक्तिहरू पनि छन् जो यी सबै रोक्न चाहन्छन्। तैपनि, जेलको अँध्यारो चिरेर देश बनाउने सपना बोकेको मान्छेलाई राजनीतिक षड्यन्त्रले डराउन सक्दैन। मुटुको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको पीडा सहेको शरीरले सत्ताको चापलाई सहजै थेग्छ।

यो कथा केवल एक नेताको होइन, यो त राष्ट्रियता, आत्मसम्मान र विकासका लागि लड्ने अठोटको कथा हो। यो कथा नेपालको त्यो सपनाको हो, जुन गरिबीको भुइँबाट उठेर हिमालको चुचुरो चुम्न चाहन्छ। यो कथा हरेक त्यो नेपालीको हो, जसले आफ्नो देशलाई माया गर्छ र यसको उन्नतिका लागि केही गर्न चाहन्छ।

नाेट: अमिशा पराजुलीकाे फेसबुकमा पाेष्ट विचारलाई आलेखका रुपमा सम्पादन गरिएको।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button