अर्जुन ज्ञवालीको चीनविरोधी गतिविधि

# पासाङ ल्हामु
अर्जुन ज्ञवालीले पछिल्ला केही महिनादेखि निरन्तर चीनलाई लक्षित गर्दै भिडियो सामग्री तयार पारी सार्वजनिक गर्दै आएका छन्। प्रारम्भमा राष्ट्रवादीको आवरणमा प्रस्तुत भए पनि, विस्तारै उनका अभिव्यक्ति चीनप्रति दुर्भावनापूर्ण, नेपालस्थित चिनियाँ दूतावास र चीनप्रेमी नेपाली संस्थाहरूमाथि योजनाबद्ध आक्रमणतर्फ उन्मुख हुँदै गएका छन्। यो गतिविधि कुनै स्वतःस्फूर्त व्यक्तिगत आलोचना होइन, बरु सुनियोजित सूचनात्मक आक्रमण (information attack) हो जसले नेपालको विदेशनीति, छिमेकीसँगको विश्वास र भू–राजनीतिक सन्तुलनलाई अस्थिर बनाउने उद्देश्य राखेको छ।
उनले हालसम्म गरेका सार्वजनिक आरोपहरू प्रमाणबिनाका र उत्तेजक प्रकृतिका छन्। उदाहरणका लागि, उनले चिनियाँहरूले नेपालमा अपराधी र सुन तस्कर लगायतकाहरुसँग मात्र सम्पर्क राख्छन् भन्ने दाबी गरेका छन्, दूतावासलाई सिआइएको नियन्त्रणमा रहेको भन्दै असम्भव र अविश्वसनीय आरोप लगाएका छन्, र चिनियाँ जनतामाथि अपमानजनक शब्दावली प्रयोग गर्दै “चिनियाँहरु गु खाने हुन” भनेका छन्। अझै खतरनाक कुरा त के भने, उनले चीन अध्ययन केन्द्र र यसको अध्यक्ष मदन रेग्मी, नेपाल–चीन मिडिया फोरम, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, र नेपाल–चीन पारस्परिक सहयोग समाज तथा यसको नेतृत्वलाई सिआइए र इण्डियन संस्थासँग जोडेर प्रत्यक्ष चरित्रहत्या गर्ने काम गरेका छन्। यसरी, दशकौँदेखि चीन–नेपाल सम्बन्धलाई जनस्तरमा सबल बनाउन लागिपरेका प्रतिष्ठित व्यक्तित्व र संस्थाहरूमाथि गम्भीर आरोप लगाउनु केवल असत्य प्रचार मात्र नभई योजनाबद्ध रूपमा चीनविरोधी भावना बढाउने उद्देश्य हो भन्ने स्पष्ट हुन्छ।
नेपालको भूगोल, इतिहास र जनस्तरको सम्बन्धलाई ध्यानमा राख्दा, चीनसँगको मित्रता हाम्रो राष्ट्रिय हितमा अविच्छिन्न रूपमा जोडिएको छ। चीनले सधैँ अहस्तक्षेपको नीति अवलम्बन गरेको छ, जुन अन्तर्राष्ट्रिय कूटनीतिमा पाँच सिद्धान्तीय सहअस्तित्व (Panchsheel) अन्तर्गत प्रस्टसँग प्रकट भएको छ। नेपालको आन्तरिक राजनीतिमा देखिने अस्थिरता, सरकारहरूको असफलता, वा युवाहरूको असन्तोषलाई चीनसँग जोड्नु तर्कसंगत मात्र नभई भ्रामक प्रचार हो। नेपालमा हुने गतिविधि चाहे त्यो राजसंस्था हटेको विषय हाेस, चाहे नेपालमा लाेकतान्त्रिक गणतन्त्र आएको हाेस्, चाहे केपी अपदस्थ भएको घटना हाेस, यसमा चीनलाई जाेडृर बदनाम गर्ने गलत नियत र दाबी नै यसको स्पष्ट उदाहरण हो, किनकि नेपालका युवाहरूको असन्तोष देशभित्रको बेरोजगारी, भ्रष्टाचार, शिक्षा र अवसरको कमीका कारण हो, बाह्य निर्देशनका कारण होइन।
मित्रता प्रवर्द्धन गर्ने संस्था, जस्तै चीन अध्ययन केन्द्र, नेपाल–चीन पारस्परिक सहयोग समाज वा नेपाल–चीन मिडिया फोरम, को भूमिका स्पष्ट छ जनस्तरमा संवाद, सांस्कृतिक आदान–प्रदान र परस्पर विश्वास बढाउने। यस्ता संस्थाहरूलाई जासुसीसँग जोड्नु केवल अज्ञानताको परिणाम होइन, बरु नियोजित दुष्प्रचार हो। संसारका सबै देशमा यस्ता संस्थाहरू हुन्छन् जसले दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्धलाई सबल बनाउँछन्। नेपालमा चीनसँग सम्बन्ध राख्ने उद्देश्य भएका मात्रै छैनन् अरु धेरै देशसँग सम्बन्धित मैत्रीपूर्ण संस्थाहरु छन्। तर जासुसी गर्ने काम भने सधैँ सम्बन्धित देशका आधिकारिक सुरक्षा निकायले मात्र गर्छन्।
अर्को दुःखद पक्ष भनेको ज्ञवालीले स्वास्थ्य अवस्थाका कारण धेरै बर्षदेखि बेडमा थन्किएका मदन रेग्मीलाई लक्षित गर्दै गम्भीर आरोप लगाउनु हो। दशौँ वर्षदेखि चीन अध्ययन र जनस्तरमा सम्बन्ध प्रवर्द्धनमा लागेका रेग्मीमाथि यस्तो चरित्रहत्या गर्नुले आलोचकको नैतिक स्तरलाई शून्यमा झारिदिएको छ। सामान्य विवेक भएका व्यक्तिले पनि बुझ्छन्, अस्वस्थ व्यक्तिलाई लक्षित गरी दोषारोप गर्नु केवल अनैतिक मात्र होइन, नियतपूर्वक गरिएको अपमान हो।
यो गतिविधि व्यक्तिगत असन्तोष वा असावधानीपूर्ण आलोचनाभन्दा धेरै पर पुगेको छ। जब एउटै व्यक्तिले बारम्बार चीनविरोधी भिडियो तयार पार्छ, त्यसमार्फत प्रमाणबिनाका आरोप निरन्तर दोहोर्याउँछ, र नेपाली संस्थाहरूमाथि सिआइएको ट्याग झुन्ड्याउँछ, त्यो “सूचना युद्ध” (information warfare) को हिस्सा हो भन्ने स्पष्ट हुन्छ। विश्व राजनीति आज सूचनामार्फत नै प्रभावित हुन्छ, जसमा तथ्यभन्दा पनि धारणा निर्णायक हुन्छ। यही कारणले यस्तो दुष्प्रचारलाई हल्का रूपमा लिन सकिँदैन।
यदि अर्जुन ज्ञवाली साँच्चिकै चीनप्रेमी हुन्थे वा एक–चीन नीतिका पक्षधर हुन्थे भने उनी काठमाडौंस्थित चिनियाँ दूतावासलाई प्रत्यक्ष लिखित वा मौखिक सुझाव दिने थिए। तर उनले त्यस्तो सकारात्मक विकल्प रोजेनन्, बरु युट्युब भिडियोमार्फत दुष्प्रचार गर्ने बाटो रोजे। यसरी, उनको गतिविधिले स्पष्ट देखाउँछ कि उनको नियत असल छैन, बरु विघटनकारी छ।
नेपालको स्थिरता र समृद्धि छिमेकीहरूसँग सन्तुलित सम्बन्धमा निर्भर छ। चीनप्रति गलत धारणा फैलाउने, नेपालको मैत्री संस्थामाथि गम्भीर आरोप लगाउने, र नेपाल–चीन सम्बन्धमाथि अविश्वास सिर्जना गर्ने गतिविधि नेपालको राष्ट्रिय हितविपरीत हो। आलोचना लोकतान्त्रिक समाजको अंग हो, तर जब आलोचना प्रमाणविनाको दुष्प्रचारमा बदलिन्छ, त्यो केवल व्यक्तिगत टिप्पणी नभई अन्तर्राष्ट्रिय अपराधको रूप धारण गर्छ। अर्जुन ज्ञवालीले पछिल्ला केही महिनादेखि सञ्चालन गर्दै आएको गतिविधि यसै कोटिमा पर्दछ। यसलाई अब केवल सामाजिक सञ्जालको सामान्य विवादका रूपमा होइन, नेपालको विदेशनीति र राष्ट्रिय हितमाथि गरिएको प्रत्यक्ष आक्रमणका रूपमा बुझिनुपर्छ। नेपाल सरकारका सम्बन्धित निकायले यस्ता गतिविधि वा क्रियाकलापलाई प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन वा संरक्षण गर्छ भने यसलाई त्यही रुपमा हेरिनुपर्छ।





