८ बैशाख २०८३, मंगलवार

इरानको घेराबन्दीले विश्वलाई हल्लाउँदा, युद्धको मुखमा विश्व अर्थतन्त्र

# फु यू हाई

संसारको सबैभन्दा व्यस्त समुद्री मार्ग हर्मुज जलडमरुमा अमेरिका र इरानबीचको टकराव अब झन्झन उग्र बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज खोल्ने सम्झौताका लागि ४८ घण्टे अल्टिमेटम दिँदै ‘नरकको आगो’ देखाउने धम्की दिएका छन् भने अर्कोतर्फ इरानले पनि अमेरिकी भूमि आक्रमणको सामना गर्न ७० लाख स्वयंसेवक तयार भएको दाबी गरेको छ। यो युद्ध अब हावाबाट मात्र होइन, जमिनमा पनि फैलिने खतरा बढेको छ।

अमेरिकी सैन्य स्रोतका अनुसार हाल मध्यपूर्वमा करिब ५०,००० अमेरिकी सेना तैनाथ गरिएको छ। केन्द्रीय कमान्डले जनाएअनुसार २०२६ फेब्रुअरी २८ मा सुरु भएको ‘अपरेसन इपिक फ्युरी’ अन्तर्गत हालसम्म १३ अमेरिकी सैनिक मारिएका छन् भने ३६५ जना घाइते भएका छन्। तर केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पेन्टागनले क्षतिको वास्तविक तथ्याङ्क लुकाइरहेको आरोप लगाएका छन्। द इन्टरसेप्टका अनुसार कम्तीमा १५ सैनिक मारिएका छन् र २०० भन्दा बढी नाविकहरू विमानवाहक पोतमा लागेको आगोबाट प्रभावित भएका छन्। अमेरिकाले हालसम्म ७ विमान (दुई एफ–३५, दुई एफ–१५, दुई ए–१० र एउटा अन्य) गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर इरान भने युद्धको लागि पूर्ण रूपमा तयार देखिन्छ। इरानी संसदका अध्यक्ष मोहम्मद बागेर कालिबाफले ‘हप्ताभित्रै ७० लाख इरानीले देशको रक्षाका लागि हातमा हतियार लिने तयारी गरिसकेको’ दाबी गरेका छन्। उनले भनेका छन्, ‘जब हाम्रो भूमिको रक्षाको समय आउँछ, हामी मध्ये हरेक सिपाही बन्छ। हामी युद्ध चाहँदैनौं, तर आक्रमणकारीलाई हाम्रो भूमि नै चिहान बन्नेछ।’ इरानी सेनाका प्रमुख कमान्डर जनरल अली जहाँशाहीले अमेरिकीलाई प्रत्यक्ष चुनौती दिँदै भनेका छन् ‘इरान भनेको आक्रमणकारीहरूको चिहान हो। हामी तपाईंको सेनालाई ढुङ्गे युगमा फर्काउने छैनौं, यसभन्दा पनि पछाडि धकेल्नेछौं।’

हर्मुज जलडमरुको मार्गबन्दीले विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाउने देखिएको छ। इरानले ‘लामो समय’ को लागि यो मार्ग अमेरिका र इजरायलका लागि बन्द रहने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य उचालिएको छ। ब्रेन्ट क्रूडको मूल्य बढेर ११५ डलर प्रति ब्यारेल पुगेको छ। जेपी मोर्गनले यदि हर्मुज एक महिना बन्द रह्यो भने तेलको मूल्य १५० डलर र यदि दुई महिना बन्द रह्यो भने २०० डलर प्रति ब्यारेल पुग्ने चेतावनी दिएको छ। यसको प्रभाव नेपालजस्तो आयातमा निर्भर राष्ट्रमा पनि प्रत्यक्ष पर्ने देखिन्छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिले दैनिक जीवनयापनदेखि मुलुकको समग्र अर्थतन्त्र नै धराशयी हुनसक्ने अवस्था छ।

युद्ध रोक्न पाकिस्तान, टर्की, इजिप्ट र चीनले मध्यस्थता प्रयास गरिरहेका छन्। पाकिस्तानको मध्यस्थतामा हुने भनिएको इस्लामाबाद वार्ता भने ठप्प भएको छ। अमेरिकी प्रस्तावमा ४८ घण्टे युद्धविरामको सर्त रहेको भए पनि इरानले यसलाई अस्वीकार गर्दै सबै अमेरिकी सेना फिर्ता र पूर्वाधार क्षतिको क्षतिपूर्ति माग गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराकचीले भनेका छन् ‘हामीले इस्लामाबाद जान कहिल्यै अस्वीकार गरेका छैनौं, तर अमेरिकी माग अस्वीकार्य छन्।’

यो युद्धको असर भने दुबै पक्षले व्यहोरिरहेका छन्। इरानले पनि अमेरिकी–इजरायली आक्रमणमा आफ्नो देशका १,९३७ नागरिकको मृत्यु भएको पुष्टि गरेको छ भने हजारौं घाइते भएका छन्। यसैबीच, बुशहर आणविक ऊर्जा प्लान्ट नजिक चौथो पटक प्रहार भएको छ, जहाँ एक सुरक्षा गार्ड मारिएको छ। अमेरिका र इरान दुबैले ‘अन्तिम दुई–तीन हप्ता’ निर्णायक हुने बताइरहेका छन्।

यो घटनाले विश्वलाई एउटा स्पष्ट सन्देश दिन्छ, २१औँ शताब्दीको युद्ध अब केवल हतियारको बारेमा मात्र होइन, यो विश्व अर्थतन्त्रको नसा काट्ने ‘तेलको मुख’ बन्द गर्ने खेल हो। ५० हजार अमेरिकी सेना र त्यसका विरुद्ध ७० लाख ईरानी स्वयंसेवकबीचको ज्वालामुखी टकरावले कुनै पनि बेला विस्फोट गर्न सक्छ। त्यो विस्फोटले तेहरान, वाशिङ्गटन वा तेल अवीव मात्र होइन, काठमाडौंको पेट्रोल पम्प र विश्व बजारको मूल्य सूचीलाई समेत सिधा जलाउनेछ। ज्वाला निभाउन सबै पक्ष गम्भीर नभएसम्म विश्व नै यस आगोको चपेटामा रहने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button